“बोबाङमा सरसफाइको नेतृत्व गर्दै स्वास्थ्यकर्मी”।

छविलाल पाण्डे

बागलुङको ढोरपाटन नगरपालिका–स्थित बोबाङ गाउँलाई फोहोरमुक्त बनाउने अभियानमा स्वास्थ्यकर्मीहरू नै अग्रपंक्तिमा खटिएका छन्।

उनीहरूले स्थानीय नागरिकलाई सचेत बनाउँदै सरसफाइ अभियानलाई तीव्रता दिएका छन्।

पर्यटकीय हबका रूपमा विकास हुँदै गएको ढोरपाटनको प्रवेशद्वारमै रहेको बोबाङ गाउँमा फोहोरले स्वागत गर्ने अवस्था देखिएपछि यसको अन्त्यका लागि स्वास्थ्यकर्मीहरूले नेतृत्व लिएका हुन्। ढोरपाटन नगरपालिका स्वास्थ्य शाखासहित स्थानीय स्वास्थ्यकर्मी सरसफाइ अभियानमा सक्रिय रूपमा जुटेका छन्।

ढोरपाटन नगरपालिका–८ स्थित सेराबाङ आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत मानसिंह पुनले सुरु गरेको ‘गाउँटोल सरसफाइ महाअभियान’ दुई वर्ष पुग्न लागेको छ। गाउँका टोलबस्ती, सार्वजनिक स्थल, नदी–खोल्सा लगायतका स्थानमा जथाभावी फोहोर थुप्रिन थालेपछि स्वास्थ्यकर्मीहरूले स्थानीयलाई परिचालन गर्दै नियमित सरसफाइ र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

स्वास्थ्य संस्थामा बसेर बिरामीको उपचार गर्नु स्वास्थ्यकर्मीको मुख्य काम भए पनि समाजलाई सचेत बनाउन नेतृत्व लिनुपरेको मानसिंह पुन बताउँछन्।

विशेषगरी ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडामा सरसफाइ अभियानलाई प्राथमिकता दिइएको छ। स्वास्थ्य शाखा, जनप्रतिनिधि, सामुदायिक स्वास्थ्य महिला समूह, शिक्षक, विवाईसी, फेयरमेड, दिगो पर्यटन प्रवर्द्धन परियोजना लगायतका संस्थाको सक्रियताले बोबाङमा सरसफाइप्रति चेतना बढ्दै गएको स्वास्थ्य शाखा प्रमुख भूमिश्वर शर्माले जानकारी दिए।

नगरपालिकाले सरसफाइ सचेतना, डस्टबिन वितरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विवाईसीमार्फत विगतमा डस्टबिन वितरण, फोहोर व्यवस्थापन स्थल निर्माण र सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

पहिले गाउँमा जताततै फोहोर देखिन्थ्यो। सिसाजन्य सामग्री, पुराना कपडा र प्लास्टिकका वस्तु छरिएर गाउँ कुरूप बनेको थियो। तर पछिल्लो समय सबैको सक्रियताले स्थानीय नागरिकमा जागरूकता बढ्दै गएको स्थानीय अगुवा चुना बहादुर घर्ती बताउँछन्।

वडा नम्बर ९ मा जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी विश्वास कायत, वडा नम्बर ७ मा महिला समूह, युवा फोर्स र विभिन्न संस्थाको सक्रियताले सरसफाइ अभियानलाई थप तीव्रता दिएको छ।

ढोरपाटन नगरपालिकाले विभिन्न समयमा गाउँमै ट्याक्टरमार्फत फोहोर संकलन गर्दै आएको छ। सरसफाइ र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन सकेमा पर्यटकीय क्षेत्र ढोरपाटनको गरिमा अझै बढ्ने ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक विष्णु पराजुलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img