२०८२ मंसिर १ गते
तमानखोला गाउँपालिकाको आयोजनामा आइतबार वडा नम्बर ६ नर्जाखानीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक चौमासिकमा पालिका तथा वडा कार्यलय र मातहत रहेका विषयगत शाखाबाट भइरहेका काम, सेवा प्रवाह र विकास निर्माणको सन्दर्भमा नागरिकको बिचमा सार्वजनिक सुनुवाई गर्दै आएको पालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ६ मा सम्पन्न गरेको हो । गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता रहेको कार्यक्रममा स्थानीय नागरिकको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा नागरिकले शिक्षा, कृषि, सडक, पुल लगायतका महत्वपूर्ण विकास निर्माणका सन्दर्भमा आफ्नो प्रश्न, जिज्ञासा धारणा र सुझाव व्यक्त गरेका छन् ।

उनिहरुले वडा नम्बर ६ मा सडक र मोटरेवल पूल निर्माण समयमा हुनुपर्ने, शिक्षाको गुणस्तरमा पालिकाले ध्यान दिनुपर्ने, कृर्षि उत्पादन बृद्धि र बजारीकरणको व्यवस्थापनमा ध्यान दिनुपर्ने, सुगम देखि दुर्गम सम्म आवश्यकताको आधारमा विकास गरिनुपर्ने विषयमा नागरिकले धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा एक दर्जन बढी सहभागिबाट आएक महत्वपूर्ण जिज्ञासा, सुझाव र प्रश्नको सर्न्दभमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत अमित परियार, वडा नम्बर ६ का अध्यक्ष चित्र छन्त्याल, स्वास्थ्य संयोजक तिल बहादुर छन्त्याल लगायतले सहभागिबाट उठेका प्रश्नको जवाफँंगै प्रतिबद्धता व्यक्त गर्नुभएको हो । कार्यक्रममा गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट, सम्पादित कार्यक्रम र भावी लक्ष्यका सन्दर्भमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमित परियारले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार कुल ३३ करोड ४१ लाख ६ हजार २६५ बजेट मध्ये चालु तर्फ २ करोड २९ लाख १७ हजार २६५ रुपैयाँ अर्थात् १७.१३ प्रतिशत र पुँजीगत तर्फ १ करोड ५० लाख ८९ हजार अर्थात ३.१९ प्रतिशत बजेट खर्च भएको जनाइएको छ । हालसम्म ९ लाख १९ हजार बराबरको राजश्व सङ्कलन गरिएको र विभिन्न ८ योजना सम्झौता भई काम अगाडी बढाएको पाइएको हो ।










