२०८२ असोज २९ बुर्तिबाङ,
शिशिर विश्वोकर्मा ,
रक्तिम सांस्कृतिक अभियानद्वारा आयोजना गरिएको जिल्ला प्रशिक्षण कार्यक्रम बुधबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
सांस्कृतिक चेतना, राष्ट्रिय स्वाभिमान र जनचेतनाको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमले स्थानीय कलाकार, युवाहरू र अभियानका सदस्यहरूलाई संगठनात्मक तथा सांस्कृतिक प्रशिक्षण प्रदान गरेको थियो ।
समापन सत्रमा रक्तिम सांस्कृतिक अभियान बागलुङका जिल्ला अध्यक्ष सविन अर्गेजाको अध्यक्षता रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढा रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, ढोरपाटन नगर समितिका अध्यक्ष झकप्रसाद श्रेष्ठ, स्थानीय समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा रक्तिम सांस्कृतिक समूहका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गिरीप्रसाद बुढाले वर्तमान अवस्थामा देश भ्रष्टाचार, विकृति र विदेशी हस्तक्षेपको शिकार बनेको उल्लेख गर्दै यस्तो परिस्थितिमा सांस्कृतिक चेतनाको आवश्यकता अझ बढेको बताए ।
उनले भने, “रक्तिम सांस्कृतिक अभियानले कला, गीत, नृत्य र नाटकमार्फत समाजमा देशभक्ति र जनचेतनाको सन्देश फैलाउँदै आएको छ, जुन आजको परिस्थितिमा अत्यन्त आवश्यक छ ।”
त्यस्तै, केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले पनि देशमा अहिलेको राजनीतिक र सामाजिक अवस्था चिन्ताजनक रहेको भन्दै, भ्रष्टाचार र अनियमितताले विकास र जनजीवनलाई असर पु¥याइरहेको बताए ।

उनले भने, “देशमा स्वतन्त्र नीति होइन, विदेशी शक्तिको इसारामा चल्ने प्रवृत्ति बढ्दो छ, त्यसविरुद्ध सांस्कृतिक चेतना नै दीर्घकालीन प्रतिरोधको माध्यम हो ।”
कार्यक्रमका क्रममा रक्तिम सांस्कृतिक समूहले अभियानका केन्द्रीय सदस्य तथा उक्त कार्यक्रमका प्रशिक्षक उषा तरामीप्रति विशेष आभार प्रकट गरेका थिए , जसले यस प्रशिक्षण कार्यक्रमको तयारी र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरी प्रशिण दिएकी थिइन् ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव कुवबहादुर छन्त्यालले गरेका थिए । समापन सत्रमा सहभागीहरूले आगामी दिनमा पनि यस्ता प्रशिक्षण र सांस्कृतिक अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।