प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि कुल १०७ वटा चिह्न सदर गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनमा भाग लिन १२० दलले आवेदन दिएका थिए । जसमध्ये १०२ दललाई एकल र संयुक्त रूपमा लड्ने घोषणा गरेका १२ दललाई संयुक्त चुनाव चिह्न प्रदान गरिएको छ । आयोगमा १४३ दल दर्ता भए पनि यसपटक ११४ दल चुनावी मैदानमा उत्रँदै छन् ।

आयोगले तय गरेको सूचीअनुसार पहिलो नम्बरमा ‘सूर्य’, दोस्रोमा ‘रुख’, तेस्रोमा ‘तारा’ र चौथोमा ‘घण्टी’ चुनाव चिह्न रहेका छन् ।

यस्तै, हलो, ढल्केको छाता, लाउडस्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो र दुई हात जोडेको नमस्कार निर्वाचन चिह्नका रूपमा प्रयोग हुनेछन् ।

अन्य चिह्नहरूमा कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, माथितिर फर्केको धनुष, गितार, घर, हँसिया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, कछुवा, चंगा, बाँसुरी, गैँची र दापसहितको खुकुरी रहेका छन् ।

आयोगका अनुसार तुलसी मोठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिरहेको ढुंगा, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकारभित्र शंख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएको आमा, चुच्चोले चिठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेका महिलाको आकृति, कोदालो बोकेका किसान, त्रिशूल, घोडा, गोलो घेराभित्र दुई पात भएको गुलाबको फूल, लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, कम्प्युटर किबोर्ड, गाढा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, हात मिलाएको र चापाकल पनि चिह्नका रूपमा रहेका छन् ।

यसैगरी, बलिरहेको बिजुलीको चिम, सिठ्ठी, प्रेम, ओदान, तिर, ट्याक्टर, रेडियो, रथ, तीन ढुंगे चुलो, ढुंगे धारा, गदा, भेडा, चस्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना, दुईवटा पैताला छाप, करुवा, षट्कोण, सुकुन्दा, पुल, चकिया, माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, गोलो घेराभित्र पानीको बोतल, बुल्डोजर, लुगा सिउने कल, हात मिलाएको महिला र पुरुष, परेवा, तराजु, खरायो, सेतो र कालो रंगको जुत्ता, खुला किताब, खुलेको ताला, आवाज सुनिरहेको कान, श्रीवत्स (समृद्धिको प्रतीक), गोलाकारभित्र बूढीऔँला उठाएको लाइक, कोदालो, मकैका बाला, दुई औँला खुलेको र अरू बन्द भएको हातको आकृति, जगर भएको सिंह, डुंगा र भैँसीलाई पनि निर्वाचन चिह्नका रूपमा प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img