छविलाल पाण्डे जेठ १९ गते
बागलुङको निसीखोला गाउँपालिका सोमबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । सबै वडालाई घोषणा गरिएसंगै सोमबार औपचारिक कार्यक्रम सहित पालिका घोषणा गरिएको हो ।

गाउँपालिका भर शून्य देखि १५ महिना सम्मका ४५२ जना र १६ देखि २३ महिना सम्मका ३७६ जना बालबालिकालाई खोप लगाइएको हो ।
खोपको पहुँच भन्दा बाहिर रहेका ५ जना बालबालिकालाई समेत अभियानमा समावेश गरेसंगै पूर्ण खोप पालिका घोषणा गरिएको हो । १६ देखि २३ महिना सम्मका ३७६ बालबालिकालाई खोपको पूर्ण मात्रा पुरा गरेका बालबालिकाको सँख्या सबै वडामा पुगेपछि पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक जुनी घर्तिले बताउनु भयो ।

बालबालिकाको शरीरमा रोग सँग प्रतिरक्षा गर्ने क्षमता वृद्धि गराउनका निम्ती खोप लगाउने गरिन्छ । पालिका भरका ११ स्वास्थ्य सँगै १७ खोप केन्द्रबाट विभिन्न १३ प्रकारका खोप लगाउने गरिएको हो । स्वास्थ्य कर्मी , महिला स्वास्थ्य स्वयमसेवीका द्धारा घरधुरी सर्वेक्षण गरेर हेरक बालबालिकाले निःशुल्क रुपमा पाउनु पर्ने खोपको मात्रामा पुरा गरेको पाइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको जनाइएको हो ।
आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्यमान घर्तिले बोल्दै गाउँपालिकाले स्वास्थ्य र शिक्षामा पहिलो प्राथमिकता दिएर काम गरिरहेको जनाउँदै गाउँपालिकाले विभिन्न सूचकको आधारमा पूर्ण खोप पालिका घोषणा गर्दे गर्दा यसलाई दिगो बनाउन सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । पालिकाले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्यको पहुँचमा राख्न स्वास्थ्य इकाई स्थापना गरेर गाउँगाउँबाटै स्वास्थ्य सेवा दिइरहेको बताउनु भयो ।
गाउँपालिका अध्यक्ष घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका सामाजिक विकास समिति अध्यक्ष एवम वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजालीले स्वास्थ्य क्षेत्रको विकास भएमा मात्र गाउँपालिका समृद्ध बन्न सक्ने बताउनु भयो । अझैपनि गाउँघरमा चेतना अभावका कारण खोप लगाउन नजाने, बीरामी हुँदा स्वास्थ्य संस्थामा नपुग्ने अवस्था रहेका कारण त्यसलाई चिर्नका निम्ती सबै निकायले सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोहोरागाउँ स्वास्थ्य चौकी प्रमुख टोप बहादुर चन्द, महिला स्वास्थ्य स्वयम सेवीका तारा शर्माको मन्तव्य रहेको थियो । स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयमसेवीका द्धारा गित र नृत्य संगै प्रतिबद्धता पत्रमा हस्ताक्षर सहित पालिकालाई पूर्ण खोप घोषणा गरिएको हो ।कार्यक्रममा स्वास्थ्य संयोजक जुनी घर्तिले वडागत खोप लगाउने बालबालिकाको तथ्याङ्क र पूर्ण खोपको उद्देश्यका विषयमा प्रस्ट पार्नुभएको हो ।कार्यक्रम सिनियर अहेब कसिन्द्र शाहीको सञ्चालनमा सम्पन्न भएको हो ।