नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्यपहाडी लोकमार्ग अभियान अन्र्तगत जेठ ८ गते बुर्तिबाङ आउने कार्यक्रम तय भइरहँदा माओवादी केन्द्र ढोरपाटन नगरकमिटीले मङ्गलबार सर्वदलीय, सर्वपक्षीय बैठकको आयोजना गर्दे आवश्यक तयारीलाई अगाडि बढाएको हो ।
कार्यक्रमको विषयमा जानकारी गराउँदै यहाँका समस्यालाई पार्टी अध्यक्ष समक्ष पेश गर्ने गरी साझा धारणा बनाएर अगाडि बढ्ने निर्णय भएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्र अर्यालले बताउनु भयो । जेठ ८ गते बिहान ८ बजे रुकुम हुँदै आउनु भएका प्रचण्डको टिमलाई निसीखोला र रुकुमको सिमाना पाती हाल्नेमा स्वागत गर्ने, ९ बजे निसीमा भेटघाट कार्यक्रम बिहान ११ बजे बुर्तिबाङ बजारमा स्वागत सहित करिब दुई घण्टाको कार्यक्रम सकेर गल्कोटमा भेटघाट कार्यक्रम रहने जनाइएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएको अध्यक्ष प्रचण्ड आउँदै गर्दा यहाँका साझा मुद्दालाई ध्यानाकर्षण गराउनका निम्ती सर्वदलीय सर्वपक्षीय बैठकको आव्हान गर्दे ढोरपाटन सालझण्डी सडक आयोजना निर्माणमा भएको ढिलाई, उत्तरगंगा जलासय युक्त आयोजना निर्माण भइरहेको ढिलाई , पश्चिम बागलुङलाई छुट्टै जिल्लाको माग लगायतका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने निर्णय गरिएको हो ।
यहाँ क्रियाशील राजनैतिक दलका प्रतिनिधिले धारणा राख्दै यहाँको साझा समस्यालाई एक भएर ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाउँदा उचित हुने बताएका थिए । कार्यक्रम नेकपा माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष हेमेन्द्र घर्तिको अध्यक्षता, केन्द्रिय सदस्य निल बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको हो ।