मृत्यु हुनेमध्ये धेरै मुटु, श्वासप्रश्वास र क्यान्सरका बिरामी

 

पुष्पराज चौलागाईं

नेपालीको सबभन्दा धेरै कुन रोगले ज्यान जान्छ ? रोचक भन्दा पनि सर्वत्र चासोको प्रश्न हो, यो । किनभने यसको जवाफले हामी के त्यस्ता गल्ती गरिरहेका छौं, जसको कारण अकालमै ज्यान गुमाइरहेका छौं भन्ने तथ्य उजागर हुन्छ ।

नेपाल ‘बर्डेन अफ् डिजिज’ को पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक १ लाख ९३ हजार ३३१ जनाको मृत्यु हुन्छ । तथ्यांक बमोजिम नेपालीको मृत्युको कारक प्रमुख रोग र संक्रमण सम्बन्धी विश्लेषण गरेका छौं ।

नेपालीको सर्वाधिक मृत्युको कारण हो– मुटु तथा रक्तनली सम्बन्धी रोग । यो रोगका कारण वार्षिक ४६ हजार ३९९ नेपालीको निधन हुने गर्छ । यसपछि दीर्घ श्वास–प्रश्वास रोगले लैजान्छ धेरैलाई । यो रोगका कारण वार्षिक ४० हजार, ७९२ नेपालीको मृत्यु हुने गर्छ ।

यस्तै ट्युमर र क्यान्सर रोगले वार्षिक २१ हजार ६५३ नेपालीको मृत्यु हुन्छ । फोक्सो संक्रमण र क्षयरोगका कारण १६ हजार २३९, पाचन प्रणाली सम्बन्धी रोगले ११ हजार ४०६ जना, मातृ तथा शिशुको समस्याका कारण १० हजार ५३ जनाले ज्यान गुमाउँछन् ।

यस बाहेक मधुमेह तथा मिर्गौला रोगका कारण ८ हजार ५०३, अप्रत्याशित दुर्घटना र चोटपटकका कारणले ८ हजार ११९, आन्द्राको संक्रमणले ६ हजार ९५९ र मानसिक समस्याका कारण ४ हजार ४४६ जनाको मृत्यु हुने गर्छ ।

हृदयघातको जोखिममा युवा

धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु भन्छन्, ‘जीवनशैलीमै आएको खराबीका कारणले मुटुका बिरामी अत्यधिक बढिरहेका छन् ।’ उनका अनुसार मुटु सम्बन्धी रोगलाई बढाउने विभिन्न कारकतत्व छन् । अत्यधिक धुम्रपान, निष्क्रिय जीवनशैली, मोटोपना, उच्च रक्तचाप, मधुमेह, शरीरमा खराब चिल्लोको मात्रा अधिक र तनावले मुटु सम्बन्धी रोगलाई बढाइरहेको छ ।

मुटु सम्बन्धी रोगमध्ये हृदयघातको कारण ७० प्रतिशत मानिसको मृत्यु हुने विज्ञहरू बताउँछन् । ‘आजभोलि युवावस्थामै हृदघयात भइरहेको छ । समाजमा धुम्रपान घटेको छैन । उच्च रक्तचाप र मधुमेह भएका मानिस बढिरहेका छन्’ डा. कोजु भन्छन्, ‘जनचेतना बढेको छ, तर धुम्रपान त्यागेको वा सुरु नै नगरेको त्यति देखिंदैन । यिनै कारणले गर्दा हृदयघात बढेको छ ।’

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका बिरामीमाथि गरिएको एक अध्ययनले नेपालमा पछिल्ला वर्षमा हृदयघातको जोखिम बढिरहेको देखाएको छ । केन्द्रले गरेको सन् २०२० नोभेम्बरदेखि २०२१ फेब्रुअरीसम्म हृदयघात भएर आएका ३४० जनामा गरिएको अध्ययनमा ४० प्रतिशतमा उच्च रक्तचापको समस्या थियो । यस्तै, ३९ प्रतिशतले चुरोट सेवन, ३० प्रतिशतमा मोटोपना र २१ प्रतिशतमा मधुमेहको समस्या थियो ।

तीमध्ये ४५ वर्षभन्दा मुनिका ११ प्रतिशतलाई हृदयघात भएको थियो । ‘उमेर, वंशाणुगत, लिंग (पुरुष) जस्ता कुरालाई परिवर्तन गर्न सकिंदैन । धुम्रपान, अस्वस्थकर खानपान, मधुमेह र उच्च रक्तचाप लगायत कुरालाई परिवर्तन गर्न सकिन्छ’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिपंकर प्रजापति भन्छन्, ‘पछिल्लो समय धुम्रपान गर्ने धेरै युवालाई हृदयघात भइरहेको छ ।’

हृदयघात लक्षण थाहा नहुँदा पनि ढिलो गरी अस्पताल आइपुगेको चिकित्सक बताउँछन् । केन्द्रको अध्ययनमा २४ प्रतिशतमा मात्रै मुटुमा समस्या भएको हुनसक्ने अनुमान लगाएका थिए । तर, ८८ प्रतिशत बिरामीले ग्यास्ट्रिक लगायत अन्य कारणले भएको आशंका गरेका थिए ।

‘छाती दुख्दा धेरै मानिसमा ग्यास्ट्रिक भएको आशंका गरेको पाइन्छ । हृदयघातको लक्षण थाहा नहुँदा पनि धेरै मानिसले अकालमा ज्यान गुमाएका छन्’, डा. प्रजापति भन्छन् ।

युवामा मानसिक तनाव पनि हृदयघातको अर्को कारण हो । ‘शारीरिक श्रम गर्ने बानी घटेको छ । परिवार, कार्यालय, अर्थ व्यवस्थासँग सम्बन्धित तनावले पनि हृदयघात निम्त्याउन सक्छ । ‘समाजमा अस्वस्थ प्रतिस्पर्धा छ । देखासिकीले गर्ने प्रचलन बढ्दो छ’ डा. कोजु भन्छन्, ‘पारिवारिक, सामाजिक र आर्थिक कारणले तनाव उत्पन्न भई शरीरमा नकारात्मक असर पर्छ ।’

अत्यधिक तनावले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीले ‘कार्टिसोल’ रसायनिक पदार्थको उत्पादनलाई बढाउँछ । चिकित्सकहरू ‘स्ट्रेस’ हामोन भन्ने गर्छन् । जसका कारण धड्कन बढाउने, रक्तनली साँघुरो बनाउने हुँदा मुटुमा असर पर्छ ।

केन्द्रले गरेको अर्को अध्ययनमा ५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्दा हृदयघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा आठ गुणाले बढी देखाएको छ । त्यसैगरी, ५० देखि ६५ वर्षसम्ममा पाँच र ६५ वर्षभन्दा माथि तीन गुणाले बढ्छ ।

चिकित्सकका अनुसार चुरोटमा हुने निकोटिनले नसाको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पुर्‍याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिंदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयघात हुन्छ ।

चुरोट सेवन गर्नेलाई नगर्नेको तुलनामा हृदयघात हुने सम्भावना अत्यधिक बढी हुन्छ । अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी भन्छन्, ‘युवा अवस्थामा (स्कूल जाने उमेर समूहका) मानिसले चुरोट र खैनी खाने बानी रोकेमा धेरै हदसम्म हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ ।’

चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभर रक्त सञ्चालन गराउँछ । रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुनेगर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन ।

विकसित देशहरूमा भने दम रोगका बिरामीहरू प्रभावकारी उपचारका कारण सामान्य जीवन बिताइरहेका छन् । तर विकासोन्मुख देशमा आर्थिक कारणले निरन्तर स्वास्थ्यको ख्याल गर्न नसक्दा धेरैको मृत्यु हुने गरेको छ ।

यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगत प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिंदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भनिन्छ ।

यस्तै मुटु तथा रक्तनलीको समस्याले स्ट्रोक (मस्तिष्कघात) बढाइरहेको छ । वीर अस्पतालका न्युरो सर्जन डा. राजीव झाका अनुसार अहिलेकै अनुपातमा स्ट्रोकको समस्या बढ्ने हो भने आगामी ८–१० वर्षभित्रमा मृत्युको पहिलो कारण यो बन्ने निश्चित छ । उच्च रक्तचाप, मुटुको समस्या, धुम्रपान, रक्सी सेवन र मोटोपनाले स्ट्रोक बढाउने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार मस्तिष्कघात दुई किसिमबाट हुन्छ । मस्तिष्कभित्र नसा फुटेर रक्तस्राव भई सयमा १०–१२ प्रतिशतलाई हुन्छ । यस्तै ८५ प्रतिशतलाई दिमागमा जाने नसा सुकेर मस्तिष्कघात हुन्छ ।

‘मुटुरोगको समस्याका कारण मस्तिष्कमा रगत लैजाने नसा बन्द हुन्छ । जसको कारण दिमागको भाग सुकेर जान्छ’ डा. झा भन्छन्, ‘मस्तिष्कघात भएपछि ४ घन्टाभित्र अस्पताल पुर्‍याउनुपर्छ । हामीकहाँ भने अस्पताल ढिला पुगेर नै ज्यान गइरहेको छ ।’

डा. झाले अगाडि थपे, ‘नेपालमा मस्तिष्कघात भएका ९५ प्रतिशत बिरामी समयमै अस्पताल पुग्दैनन् । अधिकांश बिरामी बोली हराउने, हात–खुट्टा नचल्ने, आँखा नदेख्ने जस्ता समस्या लिएर आइपुग्छन् ।’

चार घन्टा कटेपछि पनि पक्षघात भएमा १०० मध्ये १५ जना औषधि र फिजियोपछि सामान्य अवस्थामा फर्किन सक्छन् । देशको भौगोलिक, आर्थिक अवस्था, स्वास्थ्य संस्थाको पहुँच नहुँदा मस्तिष्कघात भएका ४० प्रतिशतको मृत्यु हुन्छ ।

‘नेपालमा मस्तिष्कघातकै लागि भनेर विशेष केन्द्रहरू छैनन् । सही उपचार पाउन र बाँच्न कठिन छ’ डा. झा भन्छन्, ‘मस्तिष्कघातको घटना केलाउँदा धेरैजसो अस्पताल पुग्न नपाएर मृत्यु भएको देखिन्छ ।’

धुम्रपान र वायु प्रदूषणले बढ्यो श्वास–प्रश्वास

नेपालीको दोस्रो मृत्युको कारणमा दीर्घ श्वास–प्रश्वासका रोग हुन् । श्वासप्रश्वास सम्बन्धी रोगमध्ये सीओपीडी, दम र आस्थमाले ९० प्रतिशतभन्दा बढी बिरामीलाई प्रभावित पारेको छाती रोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् ।

उनका अनुसार दीर्घ श्वास–प्रश्वासको समस्याले फोक्सो र श्वासनली सुन्निने र खुम्चिने हुन्छ । जसले गर्दा सास फेर्न अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ–स्वाँ हुने, छाती कस्सिने, छाती भारी हुने लगायत लक्षण देखिन्छन् । धुम्रपान र वायु प्रदूषण दम रोगका प्रमुख कारक हुन् । साथै बाल्यकालमा भएको संक्रमणले पछि गएर दम रोग निम्त्याउने गर्छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालीहरूको मृत्युलाई प्रभाव पर्ने प्रमुख तत्व धुम्रपान हो । धुम्रपानले १८ प्रतिशत, उच्च रक्तचापले १२ प्रतिशत, बाह्य वायु प्रदूषणले ९ प्रतिशत र रगतमा मधुमेहको मात्रा बढी हुने अवस्थाले ८ प्रतिशत मृत्युमा प्रभाव पारेको छ ।

‘श्वासप्रश्वास सम्बन्धी समस्यामध्ये दमरोग प्रमुख हो’, डा. पंगेनी भन्छन्, ‘धुम्रपान, वातावरणीय प्रदूषण र मौसमी परिवर्तन दमका कारक तत्व हुन् ।’ विशेषगरी ४० वर्ष माथिका व्यक्तिमा वंशाणुगत दम बढी देखिन्छ । वृद्धवृद्धाहरूमा चुरोट, बिंडी सेवन र वायु प्रदूषणका कारण ‘सीओपीडी’ (बुढ्यौलीमा देखिने श्वासप्रश्वास समस्या) को जोखिम उच्च रहने गर्दछ ।

यस्तै वायु प्रदूषणको बढ्दो जोखिमले नागरिकको स्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको चिकित्सकहरू बताउँछन् । विशेषगरी दीर्घरोगी, बालबालिका र वृद्धवृद्धामा यसको तत्काल असर देखिए पनि दीर्घकालीन रूपमा सबै उमेर समूहका व्यक्ति प्रभावित हुने डा. पंगेनीको भनाइ छ ।

‘वर्तमान जीवनशैली र वातावरणीय प्रदूषणले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएको छ । मिसावटयुक्त हावापानी र अस्वस्थकर खानपानका कारण मानिसको स्वास्थ्य दिन प्रतिदिन कमजोर बन्दै गएको छ’, उनले भने । वातावरणमा रहेका हानिकारक जीवाणु तथा कीटाणुहरू श्वास–प्रश्वासको माध्यमबाट फोक्सोमा प्रवेश गर्दा दम, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी समस्या निम्त्याइरहेको चिकित्सकहरूको भनाइ छ ।

वायु प्रदूषणजन्य दम रोग विकासोन्मुख देशहरूमा तीव्र गतिमा बढिरहेको छ । ‘दम रोगबाट हुने मृत्युमध्ये ८० प्रतिशत विकासोन्मुख देशमा हुन्छ’ डा. पंगेनी भन्छन्, ‘रोगको समयमै पहिचान नहुनु र धुम्रपानको बानी यसका प्रमुख कारण हुन् ।’

विकसित देशहरूमा भने दम रोगका बिरामीहरू प्रभावकारी उपचारका कारण सामान्य जीवन बिताइरहेका छन् । तर विकासोन्मुख देशमा आर्थिक कारणले निरन्तर स्वास्थ्यको ख्याल गर्न नसक्दा धेरैको मृत्यु हुने गरेको छ । ‘दमले शरीरमा अक्सिजनको मात्रा घटाउँदै विभिन्न अंगहरूमा असर पार्छ र समयमै उपचार नपाए व्यक्तिको मृत्यु हुन्छ’, डा. पंगेनी भन्छन् ।

विशेषज्ञका अनुसार बढ्दो वायु प्रदूषणले गर्भमा रहेका शिशुलाई समेत प्रभाव पार्ने गर्दछ । पश्चिमी मुलुकहरूको तुलनामा नेपाल जस्ता विकासोन्मुख देशहरूमा जन्मिने बच्चाको जीवन दुई वर्षले कम हुनुमा वायु प्रदूषण मुख्य कारक रहेको डा. पंगेनी बताउँछन् ।

उनका अनुसार अझै पनि दम रोग समयमै पहिचान हुँदैन । यदि भइहालेको खण्डमा पनि मानिसले सजिलै चुरोट छाड्दैन् जसका कारण दमको भार घट्न सकेको छैन । ‘निरन्तर खोकी लाग्दा नजिकैको मेडिकलमा गएर खोकीको औषधि सेवन गर्दै बस्नुहुन्छ । दम रोग समयमा पहिचान समेत हुँदैन । पहिचान हुने बेलासम्म फोक्सो बिग्रिसकेको हुन्छ’, डा. पंगेनीले भने ।

खराब जीवनशैली र प्रदूषणले क्यान्सर

क्यान्सरको खास कारण भनेको खराब आनीबानी हो । यसमा खानपान, दिनचर्या, रहनसहन पर्दछन् । विशेषज्ञका अनुसार बाह्य कुरा पनि क्यान्सरको कारण बन्न सक्छ । वातावरणीय प्रदूषण, धुलो–धुवाँ, रसायन, आदि क्यान्सरको कारण हुन्छन् । यस्तै अर्कोचाहिं, वंशानुगत कारणले पनि हुन्छ ।

खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरूको वृद्धि अनियन्त्रित हुन्छ । र, स–साना गिर्खा बन्छन् । यी गिर्खामध्ये एकखाले सामान्य अवस्थाका हुन्छन् । जो दुख्दैन र धिमा गतिमा मात्रै बढ्छ । यसले शरीरलाई खासै हानि गरिरहेको हुँदैन ।

 

साभार अनलाईन खबर

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित