किसान र पशुचौपायाको स्वास्थ्य जाँच गर्न गोठमै पुग्यो तमानखोला गाउँपालिका

बागलुङ । तमानखोला गाउँपालिकाले उच्च पहाडी क्षेत्रमा घुम्ती बसाइँ गर्दै पशुपालन तथा खेती गर्दै आएका किसानको गोठमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचार गरेको छ।

खेतीसँगै पशुचौपायालाई चराउन लेक क्षेत्रमा बस्दै आएका किसानलाई लक्षित गरी गाउँपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमार्फत किसानको स्वास्थ्य परीक्षणसँगै पशुचौपायामा देखिएका विभिन्न समस्याको पहिचान गरी आवश्यक औषधि तथा उपचार सेवा प्रदान गरिएको गाउँपालिका पशु सेवा शाखा प्रमुख तुलाराम आचार्यले जानकारी दिनुभयो।

गत साउन २६ गते सञ्चालन गरिएको शिविरमा ६० जना पशुपालक किसान तथा दुई हजारभन्दा बढी पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको आचार्यले बताउनुभयो।

तमानखोला गाउँपालिका–१ र म्याग्दीको धौलागिरी गाउँपालिकाको सीमामा पर्ने उक्त चरन क्षेत्रमा गाउँपालिकाभित्रका करिब १५० किसानले भेडा, बाख्रा, गाई तथा भैँसी पालन गर्दै आएका छन्। पशुपालनसँगै उनीहरूको मुख्य खेतीका रूपमा आलु खेती हुँदै आएको छ।

उच्च पहाडी क्षेत्रमा लामो समयसम्म बस्नुपर्ने तथा स्वास्थ्य संस्था टाढा रहेका कारण बिरामी पर्दा सहज रूपमा उपचारका लागि आउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले किसानको गोठमै पुगेर सेवा प्रदान गरेको हो।

शिविरका क्रममा किसानमा रक्तचाप, ज्वरो, ग्यास्ट्रिकलगायतका स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन्। स्वास्थ्य परीक्षणपछि आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको थियो। त्यस्तै, पशुचौपायामा फुड पोइजनिङ, झाडापखाला (डायरिया) लगायतका समस्या देखिएपछि आवश्यक औषधि तथा उपचार गरिएको थियो।

उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने किसानलाई लक्षित गरी आयुर्वेदिक औषधि तथा स्वास्थ्यसम्बन्धी जानकारीसमेत प्रदान गरिएको थियो। झाडापखाला, घाउचोट तथा अन्य सामान्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आवश्यक औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

तमानखोला गाउँपालिकाले विगत चार वर्षदेखि किसानलाई लक्षित गरी नियमित रूपमा स्वास्थ्य तथा पशु सेवा प्रवाह गर्दै आएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो। गाउँपालिकाले वडा तहमा पशु सेवा प्राविधिकको व्यवस्था गरी किसानलाई आवश्यक प्राविधिक परामर्श, स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्दै आएको उहाँको भनाइ छ।

तमानखोला गाउँपालिका कृषि तथा पशुपालनका लागि पर्याप्त सम्भावना भएको क्षेत्र रहेको र यहाँका अधिकांश नागरिकको मुख्य आयस्रोत कृषि तथा पशुपालन नै भएकाले यी क्षेत्रलाई थप व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिकाले प्राथमिकताका साथ विभिन्न कार्यक्रम अघि बढाएको अध्यक्ष बुढाले बताउनुभयो।

गाउँपालिकाले हरेक बर्ष किसानको गोठमै आएर यसरी सेवा दिँदा आफुहरुलाई खुसि लागेको स्थानीय शेर बहादुर वि.क. ले बताउनु भयो ।

शिविरमा गाउँपालिकाको तर्फबाट पशु सेवा शाखा प्रमुख तुलाराम आचार्य, प्रेम रावत, कार्यपालिका सदस्य हक्मित जक्तपुरी, ढालेन्द्र छन्त्याल, स्वास्थ्यकर्मी हरि छन्त्याल, देवेन्द्र भण्डारी, भवेन्द्र भण्डारी, आयुर्वेद चिकित्सक लालबहादुर तिरुवा तथा बोङ्गादोभान प्रहरीको सहभागिता रहेको थियो।

गाउँपालिकाले उच्च पहाडी क्षेत्रमा घुम्ती बसाइँ गर्दै पशुपालन तथा खेती गर्ने किसानलाई लक्षित गरी किसान र पशुचौपायाको स्वास्थ्य परीक्षण कार्यक्रम हरेक वर्ष सञ्चालन गर्दै आएको जनाएको छ।

यसै क्रममा उक्त क्षेत्रमा विद्युत् तथा सञ्चार सेवाको पहुँचसमेत सीमित रहेकाले गाउँपालिकाले सोलारमार्फत बत्ती तथा मोबाइल चार्जिङ स्टेशनको व्यवस्था गरेको छ। उच्च पहाडी क्षेत्रमा लामो समयसम्म बस्नुपर्ने किसानको दैनिक जीवन सहज बनाउन यस्ता आधारभूत सेवामा समेत गाउँपालिकाले ध्यान दिएको जनाएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img