फागुन ६ गते ढोरपाटन
इलाका प्रशासन कार्यालय बुर्तिबाङमा पछिल्लो समय कार्यालय प्रमुख नियमित नहुँदा सेवाग्राही नागरिकले सास्ती खेप्दै आएका छन ।
कार्यालय प्रमुखको रुपमा कार्यरत लोक बहादुर कुवँरको गत पौष महिनामा उमेर हदका कारण अनिवार्य अवकाश भएपछि पछिल्लो समय कार्यालय प्रमुख नियमित नहुने समस्याले सेवाग्राही नागरिकले दुःख पाएका हुन । जिल्ला प्रशासन कार्यालय बागलुङले खटाएर पठाउँदा दुई महिनामा ४ पटक गरेर कर्मचारी आएपनि दिगो रुपमा बस्ने कार्यालय प्रमुख नहुँदा समस्या भएको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीका अनुसार आफूले माघ सम्मका लागी जिम्मेवारी लिएर कर्मचारी खटाइएपनि गृहमन्त्रालयबाट लामो समय सम्म कर्मचारी नपठाउँदा आफूलाई पनि नागरिकले सास्ती पाएको अनुभुति भएको बताउनु भयो । गृहले बरिष्ठ सुब्बा पठाउने गरी तयारी गरिरहेको जनाइएको छ ।
अब केही दिनमा नरेश पुडासैनी कार्यालय प्रमुखको रुपमा आउने बताउँदै त्यसका निम्ती आफूले पनि निरन्तर फलोअप गरिरहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनु भयो । कार्यालय प्रमुख नभएपछि यस क्षेत्रबाट निर्वाचीत जनप्रतिनिधि, सांसदले पनि पटक पटक सरकारको ध्यानाकर्षण गराइरहेका छन ।
२०५४ सालदेखि इलाका प्रशासन कार्यालय रहेको उक्त कार्यालय २०६९ सालमा एकिकृत सेवा केन्द्रको रुपमा रह्यो २०७५ सालमा पुनः इलाका प्रशासनको रुपमा रहेर पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाका जनताको सेवा दिँदै आइरहेको छ । कार्यालमा कर्मचारी अभावकै कारण समयमै काम नभएको भन्दै समय–समयमा नागरिकले गुनासो गर्दै आइरहेका छन् ।
राहधानी, नयाँ नागरिकता,नागरिकता प्रतिलिपी, अभिलेख पठाउने, दलित, जनजाती प्रमाणीत, दुई नामथर प्रमाणीत लगाएतका काम गर्दै आइरहेको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा सबै काम ठप्प हुने गरेको हो ।