माघ २० गते बुर्तिबाङ
इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाख सम्म बचत गरेका गल्कोट र ढोरपाटनका बचत कर्ताले आफ्नो बचत फिर्ता पाउन थालेका छन ।
आइतबार बुर्तिबाङमा ९२ जना बचतकर्ताले आफ्नो रकम प्राप्त गर्ने गरी चेक बुझेका हुन । गल्कोट र ढोरपाटनका ५ सय ४७ मध्ये एक लाख सम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने गरी प्रकृया अगाडि बढाइएको सहकारी पीडित सङ्घर्ष समिति गल्कोट –ढोरपाटनका अध्यक्ष मञ्जु शर्मा चालिसेले बताउनु भयो ।
ढोरपाटनमा मात्रै ११२ जनाले तत्काल रकम प्राप्त गर्ने भएका हुन । आजमात्रै ३७ लाख रुपैयाँ बराबरको चेक उपलब्ध गराइएको हो । अदालतमा उजुरी दिएका पीडित बचतकर्ता मध्ये सानो रकमको बचत फिर्ता दिने गरी मिलापत्र गरेसँगै तत्काल सानो रकम फिर्ता गर्ने र धेरै रकम हुनेको हकमा देवकुमार नेपालीको सम्पत्ति बिक्री गरेर भएपनि रकम फिर्ता गर्ने गरी आवश्यक प्रकृया अगाडि बढिरहेको सङ्घर्ष समिति ढोरपाटनका अध्यक्ष यम बहादुर कुवँरको भनाई छ ।
देवकुमार नेपाली र उनको श्रीमतीको नाममा रहेको सम्पत्ति मिना ग्रुप कम्पनी प्रालि काठमाण्डौले जिम्मा लिने र बचत कर्ताको नगद सम्भव हुने अवस्थामा नगद र ठूला बचतकर्तालाई सम्पत्ति हस्तान्तरण गर्ने गरी तयारी भइरहेको जनाइएको हो ।
आजपनि मिना ग्रुप कम्पनीका प्रतिनिधि सहभागि भएर चेक उपलब्ध गराएको सङ्घर्ष मञ्जु शर्माको भनाई छ । इमेज सहकारी ठगीका अभियुक्त देवकुमार नेपाली सँग गत पौष २६ गते गल्कोट र ढोरपाटनका ५४७ बचतकर्ताले मिलापत्र गरेका थिए ।
ठगिएको २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रुपैयाँ घरसारमा मिलेर प्राप्त गर्ने गरी मिलापत्र गरेका थिए । उता बागलुङ र पोखराका बचतकर्ता संग पनि मिलापत्रको लागी छलफल भइरहेको ढोरपाटन नगरपालिका ९ का वडा अध्यक्ष खिम बहादुर घर्तिको भनाई छ । ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीलाई जिल्ला अदालत बागलुङले गत असोज १५ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी अहिले पनि थुनामै छन् ।
नेपालीसहित इमेज सहकारीका सञ्चालक र कर्मचारी गरी १३ जनाविरुद्ध १ हजार ५ सय ७३ जनाले सहकारी ठगीको जाहेरी दिएका थिए । सहकारीको १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीविरुद्ध अदालतमा मुद्दा छ । नेपाली २०८० जेठ ४ देखि फरार थिए ।
तरलता अभाव भएकाले इमेज सहकारीको कार्यालय बन्द भएको सूचना ०८० वैशाख ६ मा टाँस गरिएपछि बचतकर्ताले जिल्ला प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकाय गुहारेका थिए । सङ्घर्ष समिति गठन गरेर अगाडि बढेका पीडित बचतकर्ताले एक लाख सम्मको बचत फिर्ता हुन थालेपछी सबै बचतकर्ताको रकम फिर्ता हुनेमा आशावादी देखिएका छन ।