ढोरपाटन माघ ११
बागलुङको ढोरपाटन नगरपालिका ५ पाखापानीका मानसिङ पुनले २०७३ सालमा रहरै रहरमा सुरु गरेको स्वरोजगार कृषि तथा पशुपालन फार्म व्यवसायले पछिल्ला वर्षमा सार्थकता पाएको छ । बाख्रा सँगै फलफूल खेतीमा पन्ध्र लाख लगानीबाट व्यवसाय सुरुवात गरेका पुनको मिहिनेतले व्यवसायिक कृषि र पशुपालनबाट पाखो बारी हराभरा भएको छ । खोरभरी पचासौँ बाख्रा खसिबोका उत्पादन भइरहेका छन ।
पुर्खौली र रैथाने खेतीप्रणालीलाई क्रमश हटाउँदै व्यवसायिक खेतीमा होमिएका मानसिङ्को बहुउद्देश्य फार्ममा यतिबेला हजारौँ बोट केरा, सयौँ बोट किवी संगै कागती, सुन्तला, टिमुर लगायतका खेतीले घरवरिपरी सँगै आसपासमा रहेको बाँझो जमिन समेत राम्रै प्रयोगमा आएको छ ।
स्वास्थ्य कर्मी समेत रहेका पुन दम्पती दिनभर जागिरमा व्यस्त हुन्छन साँझ बिहानको समयलाई व्यवसायमा खर्च गरेका उनिहरुलाई घरमा बाबा, आमा ,दाई, भाउजू, दिदीबहिनीको राम्रो साथ छ । करिब तीस रोपनी क्षेत्रफल खेतियोग्य जमिनबाट कृषिको व्यवसायिक सुरुवात पुनले सात बर्षमा १८० रोपनी क्षेत्रफलमा खेती विस्तार गरेका हुन ।
दुई हजार पाँच सय घार मात्रै विभिन्न प्रजातिका केरा छन केराबाट राम्रो उत्पादन सुरु भएको छ । १७ रोपनी क्षेत्रफलमा १४० बोट किवी प्रत्यक बर्ष लटरम्म फल्न थालेको छ ।
४० बोट कागती, ५० बोट सुन्तला, २५० बोट टिमुर पाखैभरि देखिन्छ । सबै प्रकारका बोटबाट उत्पादन सुरु हुन थालेपछि मानसिंहको परिवार खुसी छन नै उत्पादित कृषि उपज हेर्नका निम्ती विभिन्न ठाउँदेखि नागरिकहरू अवलोकनका लागी पुग्ने गरेका छन ।
सबै फलफूलबाट राम्रो उत्पादन समेत सुरु गरेका पुनले यसवर्ष व्यवसायलाई थप वृद्धि गर्ने तयारीमा छन । बाउ बाजेले प्रयोग गरेको सयौँ रोपनी पाखो बारीलाई अब उत्पादन सँग जोड्न उनको लक्ष्यमा नेपाल सरकारले पनि साथ दिने भएको हो । अझै ३० रोपनी क्षेत्रफल वृद्धि गरेर यसवर्ष कुल दुई सय १० रोपनीमा खेती पुर्याउने गरी काम सुरु गरेका उनले अब किवी खेतीलाई विस्तार गर्ने र त्यसका निम्ती चालु आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना मार्फत १० लाख अनुदानको कार्यक्रम परेको बताए उक्त बजेटमा आफूले समेत लगानी वृद्धि गरी किवी खेतिको विस्तारमा अगाडि बढ्ने लक्ष्य रहेको सुनाए ।
तालिम र अनुदानको आशा नगरी व्यवसायमा होमिएका पुनलाई परिवारका सदस्यले साथ दिइरहेका थिए । दाई हिमाल कुमार पुन बैदेशिक रोजगारीमा यूरोपमा हुनुहुन्थ्यो विदेशमा कमाउने रकम घरमै परिवार सँगै बसेर कमाउन सकिने देखेपछि दाईलाई समेत घरमै बोलाएर अगाडि बढेका उनले कृषि र पशुपालनमा दिगो लक्ष्य रहेका कारण वार्षिक लाखौँ रुपैयाँको कारोबार गर्ने गरी अगाडि बढिरहेको बताए ।
कृषि, पशुपालन व्यवसाय सुरु गर्ने तर धेरै समय टिक्नै नसक्ने यूवा प्रबृर्तिलाई अन्त्य गर्दे कुनै हरेश नखाई फलफुल र बाख्रा पालनमा रमेका मानसिंहले दिगो लक्ष्य लिएर अगाडि बढ्दै आएका हुन ।
प्रर्याप्त खानेपानी र सिंचाईको सुविधा नहुँदा समस्यामा रहेका पुनलाई कृषि ज्ञान केन्द्र बागलुङले समेत ९० हजार रुपैँया अनुदान दिने भएको छ । सिँचाई प्रर्याप्त भएमा अझै राम्रो परिणाम प्राप्त हुने बताउँदै राज्यले बास्तविक किसानको छनौट गरेर लगानी गरेमा आफुजस्ता युवाहरुलाई गाउँमै व्यवसायक बन्न धेरै सहयोग पुग्ने उनको भनाई छ ।
यसवर्ष मात्रै ६ कुइन्टल बढि किवी उत्पादन गरी विक्री गरेका उनले दैनिक १० घार सम्म केरा र पचासौँ कुइन्टल किवी बजार पठाउने लक्ष्य सहित अगाडि बढिएको बताए ।