माघ ११ गते ढोरपाटन
बागलुङको ढोरपाटन नगरपालिकाको हिउँदे नगरसभा तथा १६ औँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
गत पौष २९ गते सोमबार देखि सुरु भएको बजेट, योजना तथा कार्यक्रम माथिको प्रस्ताव संगै विभिन्न ७ वटा ऐन, नियमावली, कार्यविधि सभामा पेश गरिएको थियो । शुक्रबारको नगरसभाले बजेट कार्यक्रम सँगै ऐन कार्यविधि र नियमावली माथि व्यापक छलफल सहित पारित गरिएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवि घिमिरेले बताउनु भयो ।
ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा सञ्चालन भएको सभा तथा अधिवेशनबाट १५ औँ नगरसभाबाट पास भएका योजनालाई थप संसोधन गर्दे ६८ करोड, ७८ लाख ५० हजार पाँच सय रुपैयाँ कुल बजेट सहितको विभिन्न संशोधित योजना, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।
सभाबाट विभिन्न ७ वटा ऐन, विधेयक र नियमावलीको प्रस्ताव माथि छलफल गर्दे पारित गरिएको हो । जसमा ढोरपाटन नगरपालिका सहकारी नियमावली २०८१, ढोरपाटन नगरपालिका सार्वजनिक खरिद नियमावली २०८१, ढोरपाटन नगरपालिका विद्यमान समितिको कार्यसञ्चालन कार्यविधि २०८१, ढोरपाटन नगरपालिका व्यवसाय दर्ता विधेयक २०८१ पारित गरिएको छ ।
त्यस्तै ढोरपाटन नगरपालिका लेखा समितिको कार्यसञ्चालन कार्यविधि २०८१, ढोरपाटन नगरपालिकाको प्रशासकीय खर्च नियमन कार्यविधि २०८१, र ढोरपाटन नगरपालिकाको शिक्षा ऐन माथि छलफल सहित सभाबाट पारित गरिएको हो । त्यस्तै प्रस्तावित वार्षिक बजेट कार्यक्रम र योजना अन्र्तगत १५ औँ अधिवेशनको बजेटमा थप २५ लाखको बजेट थप गर्दे ३० वटा संशोधित योजना र कार्यक्रम पारित गरिएको हो ।
बजेट, कार्यक्रम र योजनालाई सभाको बहुमतद्वारा पारित गरिएको थियो । पौष २९ गते ल्याइएको संशोधित बजेटमा थप १६ लाख रुपैयाँको कार्यक्रम संसोधन गरिएको हो ।जसमा आमा समुह तथा महिला स्वास्थ्य स्वयमसेवीका को लागी सामाजिक व्यवहार परिवर्तन तथा गुणस्तरीय स्वास्थ्यका लागी आफ्नै पहल कार्यक्रम तर्फको ७ लाख र विभिन्न योजनाहरूको कन्सल्टेन्सी बापतको एकमुष्ट जम्मा भएको रकम ९ लाख संसोधन गरिएको हो ।
उक्त बजेट प्रादेशिक अस्पताल उद्घाटन र प्रशासनिक भवन उद्घाटनमा लाग्ने ७ लाख खर्च सहित विभिन्न शीर्षकमा समावेश गरिएको छ ।
प्रस्तुत ऐन, विधेयक र नियमावली उपर सभाका सदस्यले अध्ययन गर्ने र व्यापक छलफल पछि सभाबाट पारित गर्ने गरी पार्ने गर्ने तयारी सहित पौष २९ गतेको सभाको समय आजका लागी सारिएको थियो । कार्यक्रम ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवि घिमिरेले सहजिकरण गर्नुभएको हो ।