बागलुङ माघ ९ गते
बागलुङ नगरपालिकालाई बुधबार एक कार्यक्रमका विच बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणा गरीएको छ ।
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार बागलुङ बजारको धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना गरिएको बालमैत्री नगर घोषणाको उद्घाटन गर्दै बालबालिकाहरुको हकहितको लागि घोषणा कार्यक्रमले चेतना र जागरण फैलाएर बालबालिकाको दिगो भविष्य कसरी निर्माण गर्न सकिन्छ भन्ने बारेमा बहस सृजना गरेर सबै सरोकारवालाहरुलाई जवाफदेही बनाउने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले बालमैत्री अभियानले गुणस्तरीय व्यवहारिक शिक्षा र सिकाईमा बालबालिकाहरुको पहुँच पुर्याउनुको साथसाथै देशले असल नागरिक पाउने बताउनुभयो ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सबै जनालाई स्वागत गर्नु हुँदै बागलुङ नगरपालिकाका सबै वडाहरुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणापछि नगर घोषणा कार्यक्रमलाई उत्सवको रुपमा मनाउन लागेको बताउनुभयो ।
बालबालिकालाई हेर्ने दृष्टिकोण, उहाँहरुलाई गरिने व्यवहार र सबै क्षेत्रमा बालबालिकाको अधिकार सुनिश्चित गर्नको लागि आजको घोषणा कार्यक्रम महत्वपूर्ण कोसे ढुंगा हुने बताउनुभयो ।
२०७९ जेठ ७ गतेको पहिलो कार्यपालिका बैठकले बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने निर्णय गरेको थियो ।
घोषणाको उद्घाटन सत्रमा बागलुङ नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य, विज्ञान, कला, संस्कृति झल्कने प्रदर्शनी र झाँकीहरु प्रस्तुत गर्नु भएको थियो भने विभिन्न जातिय समूहद्धारा सांस्कृतिक नाँच र झाँकीहरु प्रस्तुत गरिएको थियो ।