पौष १० गते ढोरपाटन
बागलुङको तमानखोला गाउँपालिकाले दोश्रो गाउँसभाको छैटौँ अधिवेशन बुधबार सम्पन्न गरेको छ ।

गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको अध्यक्षतामा बसेको हिउँदे गाउँ सभाबाट विभिन्न बजेट तथा कार्यक्रम र योजनाको संसोधन नयाँ योजनाको छनौट बजेट व्यवस्थापन सहित विभिन्न प्रतिवदेनमाथि छलफल सहित सभाबाट पारित गरिएको छ ।
गाउँसभाबाट संशोधित नगर प्रहरी विधेयक सम्बन्धमा छलफल गर्दे सभाबाट पारित गरिएको हो । विधायन समिति संयोजक मोती प्रसाद विश्वकर्माले प्रस्तुत गर्नुभएको संशोधित नगर प्रहरी विधेयक माथि छलफल गर्दे गाउँपालिकाले पालिकाको शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रेखदेख र सुरक्षा सहित व्यवसाय दर्ता ,नवीकरण लगायतका विषयमा नगर प्रहरीको आवश्यकता रहेको जनाउँदै ३ जना नगर प्रहरी राख्ने गरी संशोधित नगर प्रहरी विषयक सभाबाट पास गरिएको हो ।

त्यस्तै अनुगमन समितिका सदस्य मनकुमारी बुढाथोकी द्धारा अनुगमन समितिको प्रतिवेदन, न्यायिक समितिका सदस्य केशरी पुन मगर द्धारा न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । न्यायिक समितिमा चालु आर्थिक वर्षमा ८ वटा उजुरी दर्ता भएको र अधिकांश निरुपण भएको पाइएको छ ।
न्यायिक समितिलाई थप व्यवस्थित बनाउन पालिका र वडा कार्यालयमा न्यायिक कक्ष स्थापना गर्नुपर्ने र थप व्यवस्थित बनाउनुपर्ने सुझाव सभाका सदस्यले व्यक्त गरेका छन ।
त्यस्तै कार्यपालिका सदस्य झक बहादुर बूढा द्धारा कुल १ करोड ९६ लाख ७२ हजार एक सय रुपैयाँ बराबरको संशोधित कार्यक्रम योजना र थप बजेट सहितको संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । रकमान्तर गरिएको बजेट र संसोधन गरिएको बजेट तथा कार्यक्रममाथि सभामा फछफल सहित पास गरिएको हो ।
विभिन्न ४ बुँदामा गरिएको प्रतिवेदन, संशोधित कार्यक्रम र योजनाका सन्दर्भमा छलफल सहित सभाबाट पास गरिएको हो । गाउँपालिकाको हिँउदे सभाबाट ३४ वटा नयाँ योजना थप गरिएको छ । विभिन्न १७ वटा ऐन जारी गरेको गाउँपालिकाले ऐनको आधारमा बजेट तथा कार्यक्रम अगाडी बढाएको गाउँसभाका अध्यक्ष हिराकुमारी छन्त्यालले बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष नारायण सुनार, वडा नम्बर ६ का अध्यक्ष चित्र बहादुर छन्त्याल, जिल्ला सम्मोन्य समिती सदस्य टेक बहादुर अर्गेजाको शुभकामना मन्तव्य रहेको थियो ।
गाउँसभा सदस्य, कर्मचारी, प्रहरी, पत्रकार लगाएतको उपश्थिती रहेको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले सञ्चालन गर्नुभएको हो ।










