रहर लाग्दो चलन पत्रमित्रता गर्ने युवायुवतीहरु
मैले छ सात कक्षामा अध्ययन गर्दा युवा मन्च मासिक पत्रिका, मधुपर्क र गरिमा पत्रिका धेरै सख्यामा प्रकाशन हुने गरेको अवस्था थियो । मैले युवामञ्चको पछिल्ला पानामा भएको फोटो सहितको ठेगानामा आखाँ लगाउँथे । ठेगाना र नाम सहित रुचि पढी पत्रमित्रताका लागि रुचि भएका मानिसहरुको नामावली अध्ययन गर्थे ।
तर पत्रमित्रताका लागि पत्र लेख्ने जाँगर र लगाव बढेको थिएन । तर म भन्दा माथिल्लो कक्षामा अध्ययन गर्ने केही बाबा आमा पैसावाला भएका साथीहरुले खुब धेरै साथीहरुसँग पत्रमित्रता कायम गरेर टाढा टाढाका पत्रमित्र साथीहरुबाट पत्र आएको भनेर पढने र देखाउने गर्दथे । मलाई पत्रमित्रता गर्न पाए हुन्थ्यो भन्ने रुचि जगाउँथे । तर मसँग पत्रमित्रताको लागि प्रस्ताव गर्ने मनपरेका साथीहरुलाई पत्र पठाउन टिकट किन्ने पैसा नभएकोले पत्रमित्र साथीहरु बनाउन असर्मथ बनेको थिए । केटी साथीहरुले मैले चिनेकाहरुले पत्रमित्रता स्तम्भमा पठाएको कम जानकारी हुन्थ्यो । अधिकांश केटा साथीहरुले केटी साथीहरुलाई धेरै मात्रामा पत्रमित्रता स्वरुप पत्र लेखेको पाउँथे । मैले पत्रमित्रता आइ.ए. अध्ययन गर्ने समयमा मात्र थोरै पाँच छ जना साथीहरुसँग एक वर्षसम्म पत्राचार गरेपछि छोडिदिए । पत्रमा पुर्व धरानका एक जनाले भ्रमण गर्न आउनका लागि प्रस्ताव गरेका थिए । लामो यात्रा र महँगो यात्रा हुने भएको अन्जान स्थलमा सफलता हासिल हुन सकेन । रेडियो नेपालको केन्द्रिय प्रशारण सिंहदरबार,काठमाडौ र क्षेत्रीय प्रशारण मालेपाटन, पोखराबाट छोटो समय पत्रमित्रता गर्न इच्छुक साथीहरुका लागि कार्यक्रम संचालन गरेको हुन्थ्यो । रुचि,भावना र ठेगाना मिल्दोसँग पत्रमित्रता गर्न इच्छा लागेमा पत्र लेख्न सकिन्थ्यो । राम्रा राम्रा अर्थ लाग्ने, फिल्मका हिरो हिरोइनका नामहरुबाट आफनो पनि उपनाम लेख्ने चलन थियो । मैले पनि दुई वटा अन्जान थापा र याम बहादुुर रामजाली मगर जस्ता उपनाम राखे तर नागरिकता, शैक्षिक प्रमाणपत्रहरुमा फरक फरक पर्ने भई अप्ठयारो पर्न थाले पछि उपनामबाट नाम लेख्न छाडिदिए । पछि त युवा मञ्च, नवयुवा मञ्च, विमोचन मासिक पत्रिका, कामना पत्रिका, साप्ताहिक पत्रपत्रिकाहरुमा थुप्रै महानुभावहरुको नाम, ठेगाना हुन्थ्यो खासै रहर लाग्न छोडयो । च्याटियो अटो डायरी
विद्यालय छोडेर उच्च अध्ययन गर्नका लागि अन्यत्र जानु भन्दा पहिला आत्मीय साथीहरुले आपसी समन्वय र समझदारीमा भावनाका शब्दहरु सहित फोटो टाँसेर राम्रो डायरीलाई अटो ग्राफ बनाउने प्रचलन थियो । कोही विचमा भारतीय सेनामा भर्ती भैसकेपछि, कुनै बसाइ सराई गरेर पोखरा,बुटवल, नारायणगढ जाने समयमा फोटो लिने दिने गरिन्थ्यो । एस एल सी पास पछि, क्याम्पसमा आइ ए अध्ययन , वि ए अध्ययन गर्दाको समयमा समेत अटो लेख्ने चलन थियो ।
मलै एस एल सी पासको समयमा एक वटा बनाए । तर क्याम्पस अध्ययन गर्दा बनाउने काम गरिन । सहपाठी साथीहरुको तिन चारको अटो ग्राफ डायरी भरिदिने काम गरेको थिए । बढी मात्रामा माया प्रेमका प्रसग, भनाइहरु लेखेर सम्झना स्वरुप उपहार दिने चलन थियो । कक्षा दशमाव पढने समयमा अब छिटै एस एल सी को परिक्षा पछि तितर वितरण हुने भएकोेले मेरो सोच र विचारसँग नजिक भएका साथीहरुले एक एक वटा अटो डायरी बनाउने योजना बनायौ । मैले केटा केटी सबैलाई दिएको थिए । सामान्य खालको डायरी थियो । मन परेका र डायरी भरिदिए हुन्थ्यो भन्नेहरुलाई प्रस्ताव गर्न सकेको थिएन । मैले पनि पाँच छ जना साहीहरुको डायरी भरिदिएको थिए ।
डायरीमा मेरो बढीमा १५ जना महिला पुरुष साथीहरु भएका थिए । अटो डायरी पनि कसैले त नभरि दिए हुन्थ्यो भन्नेले हामीलाई भर्न नदिने हो भनी मागी मागी भरिदिए । कोही साथीलाई पटक पटक अनुरोध गरेर भर्ने काम भयो । कसैले बहुत परिश्रम गरेर रगिन बनाएका हुन्थे र हिरो हिरोइनका पोष्टकार्डले कभर गरेका हुन्थे । मेरो एक जना मिल्ने साथीले पनि अलि गुणस्तरीय डायरी खरिद गरेर अटो बनाएका थिए । उहाँको डायरी अटोमा पनि केटा केटीहरुले नै भरेका थिए । तर एक जना केटीले अति भावनात्मक र प्रेममय आत्मीय तरिकाले शब्दहरु लेखेको र अति राम्रो फोटो राखेर भरेको डायरीलाई आलो पालो गरेर साथीहरु माझमा अध्ययन गर्ने गरिन्थ्यो । ति केटी साथीको भाईले समेत त्यो डायरी भरेको अध्ययन गर्न पुगेछ । दिदीले घरमा भाइलाई थाहा नदिई भरेकी रहिछिन् ।
दिदीको फोटो र भावनाका शब्दहरु देखेर भाईलाई सायद रिस र नकारात्मक भावना सृजना भएर होला । केटीको भाइले अटो डायरीमा भएको दिदीको फोटा च्याँटेर लगेछन र साथी मार्फत अटो फिर्ता गरेछन । साथीहरुले अध्ययन गरेर फिर्ता गरेको होला भनेर फिर्ता भएको डायरी पल्टाएर हेर्दा त फोटो च्यातेको भेटदा त हामी अक्क न बक्क भयौ । अर्का एक जना साथी चुप चाप बस्नका लागि अनुरोध गरे । हामीले केही प्रतिक्रिया जनाउने कुरा गरेनौ । पछि बुझदै जादा ति फोटो च्याँटेर लाने साथीले बढी प्रेम भावनामा डुबेर अन्तर जातीय विवाहका लागि योजना समेत हुन्छ कि भन्ने ठानेर अपमानित तरिकाले फोटो च्याटेर प्रतिक्रिया जनाएको हामीले अव्यक्त गर्न नसक्ने भाव अनुभव गयौ । अटोको फोटो च्याँटीको घटना पछि हामी थप साथीहरुलाई भर्न दिने कि नदिने भनेर दोधाँरमा परयौ । थप फरक साथीहरुलाई अटो भर्नका लागि अनुरोध गर्ने कार्यमा पछाडी सरेर नयाँ साथीहरुलाई भर्न नदिने अवस्थामा हामी पुग्यौ ।
गाउँ भरिकालाई चिन्ने हुलाकी अंकल
पहिला हुलाकीको काम गर्ने मानिसलाई बहुत सम्मान गर्दथे गाऊँघरमा । आफना परिवारका सदस्यहरु परदेशमा हुने गर्दथे । भारतीय सैनिकका रुपमा, नेपालका टाढा पुर्व पश्चिममा, जिल्लामा कार्यरत नागरिकहरुले घरपरिवारमा समाचार आदान प्रदान गर्ने एक मात्र माध्यम चिठी पत्रहरु हुलाक मार्फत पठाउने चलन सस्कार थियो । हाम्रो भकुण्डे गाऊँमा अतिरिक्त हुलाक केन्द्मा हरि प्रसाद शर्मा नामका हुलाकी काका हुन्थ्यो ।
उहाँलाई हुलाक सेवा अनुसार कुन पदमा काम गर्नुहुन्छ भन्ने गाउँका कमै मानिसलाई थाहा थियो । तर हुलाकी बाजे वा निफन्नीको हुलाकी बाहुन बाजे भनेर सम्बोधन गर्दथे । हुलाकी बाजेको नाम हरि प्रसाद शर्मा हो भनेर कमै मात्र मानिसहरुले जानकारी राख्दथे । मगर समुदायमा साना देखि ठुला बडा मानिसहरुले पनि साना साना उमेर देखि पाका उमेरका बाहुन समुदायका पुरुष मानिसलाई बाजे र महिलालाई बाहुनी बज्यै भनेर सम्बोधन गर्दथे । साना उमेर साथीहरु बाजे भन्दा कोही कोही रिसाउँने गर्दथे । कोहीले हजुर मात्र भन्थे र सही थाप्थे । तर बाबा आमा र समाजले मलाई पनि बाहुन बाजे भन्न नै सिकायो । हुलाकी हरि प्रसाद शर्मालाई गाऊँका हरेक जसो मानिसहरुले चिन्दथे ।
मध्यम स्तरको निलो रगंको झोला बोकेर हिडनहुन्थ्यो । चिठी पत्र सम्बन्धीत घर परिवारलाई बुझाइ सकेपछि कुनै घरमा चिठी पत्र पढन नजान्नेहरुको सदस्य भएमा पत्र पढेर समेत सुनाइदिनु हुन्थ्यो । परदेशमा भएको नातेदारहरुको सन्चै र सकुशल भएको खबरबाट खुशी भएर हुलाकी बाजेलाई तरकारी,कुचो, फलफुलहरु उपहार स्वरुप सौजन्य दिन्थे । घरमा आउदाँ खाली निलो झोला लिएर गएको गाऊँबाट फर्किदा झोला भारी बनाएर घरमा फिर्ता हुने गर्दथे । साधारण चिठी, रिजष्ट्रर चिठीहरु स्वय घरधनीको रोहवरमा नै बुझाउनु पर्ने बाध्यता थियो ।
तत्कालीन भुकण्डे गाऊँ विकास समिति भरिका मानिसहरुको परदेशमा भएका मानिसहरुको नातागोतालाई नजिकबाट चिन्नुहुन्थ्यो । टेलिफोन, इन्टरनेट, मोबाइलको विकास नभएको अवस्था थियो । नेपाल टेलिकममा आवा आउने पठाउने काम दुरसंचारबाट भएपनि अत्यन्त कम मात्रामा जनसमुदायमा पहुँच भएको हुन्थ्यो ।
अहिले हुलाकी काकाको कथा सुनाउँदा केटाकेटीहरुले विश्वास गर्न सक्दैनन । हुलाक सेवाको महत्व समसामयिक समयमा घटदो क्रममा रहेको छ । तर कुरियर्स सेवाको सेवा प्रवाहमा भने निरन्तरता नै रहेको पाउन सकिन्छ । कुरियर्स सेवाको काम हुलाक कार्यालयको सेवा अन्तर्गत पर्ने भए पनि हुलाकको क्षेत्राधिकारमा संकुचन भएको छ । हुलाक कार्यालयले कुरियर्सको काममा व्यवस्थापन गर्न सकेमा सस्तो र भरपर्दो सेवा सहित कम शुल्कमा सेवा लिन सकिने थियो ।
हुलाक सेवाको प्रभाव र प्रयोग सुचना प्रविधिको विकासले घटेपछि हुलाली काकाहरुले समेत सेवाबाट उमेर हद म्यादका कारणले अवकाश भए । अहिले त एउटै समुदायका मानिसहरु समेत चिनजान गर्ने हुने परिपाटीमा कमी आएको छ । सामाजिक सञ्जालको बढदो प्रयोग स्थानीय अपनत्वका कला,सस्कृति र चालचलनहरु हराउँदै गएको अवस्था पाउन सकिन्छ । हुलाकी काकाहरुले सबै गाऊँमा सेवा दिएर अहिलेका संचारकर्मीहरुको जस्तो सुचना र सचारको अतुलनीय कामकाज गरेका थिए ।
जाडोमा शिक्षकहरुको पुस्तक पोल्ने काम
मैले विद्यालयको सुरुवाती सिकाइ र अध्ययन भैरव माध्यमिक विद्यालय, भकुण्डेमा गरेको हो । पढने समयमा किताब बाहेक अन्यत्र बाहय किताबहरु कम मात्रामा अध्ययन गरेका हुन्थ्यो । वर्ष भरि अध्ययन गरिसके पछि विद्यालयमा फिर्ता गर्नु पर्ने नियम थियो । केही वर्षसम्म मात्र चल्यो । पछि कोही साथीहरुले नयाँ पुस्तक किन्न नसक्नेहरुले पुराना पुस्तकहरु नै सापटी लिएर पढने गर्दथे । विद्यालय भवन साँघुरो थियो ।
विद्यालय फर्निचर सुविधा सन्तोषजनक थिएन घरबाट चकटी लिएर विद्यालय कक्षामा ओछयाएर वर्षौसम्म पढने काम भयो । विद्यालयको स्टोर कोठामा पुराना किताबहरु संग्रहीत थियो । सायद त्यो पुस्तकालय भावी दिनमा परिणत भयो कि जस्तो लाग्दछ । हाम्रो गाऊँमा पुस माघ महिनामा बहुत जाडो हुन्थ्यो । कुनै वर्षको पुस र माघमा हिउँ समेत पर्दथ्यो । सिमसिम झरी समेत परेको समयमा विद्यार्थीहरुलाई पानी आएको छ भन्दै पढाइ नगरी छुरुछुरु जाडोमा बाक्लो ज्याकेट विना कक्षाकोठामा बसी रहेका थियौ । तर शिक्षकहरुको समुहले पुराना किताब, कापीहरु डढाएर आगो फुकेर न्यानो वातारणमा बसी रहेका हुन्थे । त्यतिबेला जाडोको समयमा किताबहरु पोलेर आगो तापेको बेलामा खासै अनुभुति र थप भावनाहरु सोचमा आएन । बोधको ज्ञान समेत बालापनमा आत्मसात भएन ।
तर अहिले ति पोेलेर आगो तापेका पुस्तकहरु अरु विद्यार्थीहरुलाई समानुपातिक तरिकाले बाँडेर अध्ययन गर्न दिएको भयो हुन्थ्यो जस्तो लाग्दछ । स्टोर कोठामा पुस्तकालय स्थापना गरेको भए अहिलेको शिक्षा प्रणालीक र सिकाइको मापन हुने बुक कर्नरको अवधारणा त्यहि बेलामा उपयोग गर्न सकिन्थ्यो । शिक्षकहरु मात्रलाई उपयोग हुने गरी पुराना पुस्तकहरु संग्रह गरेर राख्ने योजना नबनाएकोमा अहिले महत्व बुझदा त्यो समयमा पुस्तक जलाएकोमा बहुत पश्चाताप लाग्दछ । मैले भन्न खोजेको विषय विद्यार्थीहरुका अगाडी जाडोका समयमा थोत्रा पुस्तकहरु हो भनेर आगोमा नपोलेको भए हुन्थ्यो भन्ने आशय मात्र हो । किताब पोलेको देख्दा कसै कसै विद्यार्थीहरुमा समेत आफुले अध्ययन गर्ने पुस्तकलाई माया,संरक्षण गर्ने र पठन संस्कृतिलाई बढावा दिन नसक्लान कि भन्ने सोच मात्र विकास भएर ममा आएको हो ।
अहिले त थोत्रा किताब कापी किन्न कब्वाडी वालाहरु गाउँ गाउँँमा दैनिक जसो सकलन गर्नका लागि डुलिरहेको अवस्था समेत पाउन सकिन्छ । थोत्रा पुस्तक, कापीहरु पनि कुनै कुनै पुस्तकहरु पुस्तकालय,संग्राहलयमा संकलन गरेर राख्नुपर्ने हुन सक्दछन भन्ने खोजी र पहिचान गर्न बाँकी छ । अमुल्य र बौद्धिक सम्पत्तिका रुपमा भावी पुस्ताका लागि ज्ञान हस्तान्तरणका लागि राख्नु पर्ने सामानहरु हुन कि खेर फाल्नु पर्ने कवाडी सामानहरु हुन भनी छुटाएर राख्नुपर्छ भन्ने मात्र हो । अहिले त सुचना र प्रविधिको युगमा एआई सहित डिजिटल मिडियामा इबुक, इपेपरको बढदो प्रयोग र उत्पादनमा रात दिनमा बढोत्तरी रुपमा विकास भएको अवस्था छ । साइबर अपराधबाट बच्नका लागि हरेक नागरिकलाई जनचेतना कार्यक्रम बस्ती बस्तीमा भाइरल बनाउन जरुरी भएको छ ।
दुने प्रणालीमा आलु साटने इतिहासका पानामा
भकुण्डे गाऊँको माथिल्लो भेगमा वर्षे आलु मौसम राम्रो भएमा खुब आलु उत्पादन हुन्छ । आलु खेती गरेर धेरै भन्दा धेरै जिवीकोपार्जन गरेका मानिसहरु छन् । एक समय वर्षमा आलु राम्रो फल्ने मौसम परेको थियो । आलुलाई ठुलो भकारी, डोकामा भरेर स्टोर गर्ने काम हुन्थ्यो ।
हिउदँमा चैते आलु लगाउन अमलाचौर, पैयुपाटा, कुश्मीशेरा, फलेवास, नारायणस्थान लगायतका मानिसहरु धान,कोदो,मकै लिएर आलुको बिउ लिन थुप्रै मानिसहरु लाइन लगाएर भारी बोकेर आउँथे । धेरै जसोले धान साटनका लागि पहल गर्दथे । दुई पाठी धानको सट्टामा एक पाठी आलु अर्थात चामल एक पाठीको एक पाठी आलु साटफेर गर्दथे । राम्रो धान खोजी खोजी साटने भए पनि चामल लिएर भने आएका हुदैनन्थे । तिन चार माना चामल लिएर भागो अचारका लागि साटेर लैजान्थे । धानको महत्व बढी मात्रामा थियो ।
धान उत्पादन गर्ने खेत कम थियो । कोदो, मकै भकुण्डेमा नै उत्पादन हुने भएकोले त्यति महत्वमा पर्ने थिएनन । मकै र कोदो लिएर आलुको बिऊ साटन आउने मानिसहरु बहुत मुश्किलले आलु पाउथे । आलुलाई प्रति पाठी भनेर पैसामा कम मात्रामा बेच्ने गर्दथे । मेरो मानसपटलमा आलु भन्दा चामल दुने प्रणालीमा साटफेर धान महँगो हुन्छ भन्ने अनुभव गर्दथे । तर पछि बुझदै जादा आलुको बिउ मुल्यको बेमौसमी तरकारीको बराबर जस्तो नै हुदो रहेछ । आलुको बिउलाई दुने साटफेर प्रणालीमा धानलाई सकलन गरेर खाद्यान्न जोहो गर्ने आत्मनिर्भर भकुण्डेबासीहरु अहिले उल्टो आलुका बोराका बोरा जिपमा हालेर अमलाचौर, पैयुँपाटा, नारायणस्थान गाउँमा लैजाने गरेको पाउन सकिन्छ ।
अहिले साउन, भदौको समयमा नै जिपमा बेच्न लैजाने आलु उत्पादन हुँदै आएको छ । दुने प्रणालीको आलु साटफेर प्रणाली ओझेलमा परेको छ । धेरैले पैसामा नै किनबेच गर्दछन् । चामल त २० वा २५ केजीको बोरामा आउने चामललाई उपभोग गर्ने चालन चलन र सस्कार विकास भएको छ । अहिले बागलुङ बजारमा त ढोरपाटन, ताराखोलाको आलु उपभोगका लागि धेरै मात्रामा आउने गरेको पाउन सकिन्छ । नगद कारोवारमा बढी मात्रामा कृषिजन्य उत्पादन खरिद बिक्री हुने चलन आएको छ ।
अन्तमा
मैले लेखलाई आफु अनुकुल व्याख्या र विश्लेषण गर्ने तर बुझने फरक तरिका र भावमा बुझिदिने गरेको पाए । मैले आफुले अनुभव र विगतका दैनिकीलाई सस्मरणका रुपमा प्रस्तुत गर्ने कामले निरन्तरता पाओस भन्नका लागि हो । तर एक जान साथीले मैले बसिबियालोको लेखनी भनेर लेखेको साथीले बुझदा पुरा आलेख नपढेको कारणले कहाँ याम जी तपाई त बागलुङो लेखानीमा भएको खबर थियो त भनेर भेटघाटमा भनेका थिए । मैले आफना भावना र विचारलाई प्रस्तुत गर्दा लेखको माध्यमबाट गर्ने बानीको विकास भएको छ ।
बाँकी गन्थन मन्थन अर्को टिपन टापनमा बसिबियालोका सन्दर्भहरुमा लेखौला । म भन्दा अझै पुराना पाकाहरुको पुराना यादकर जिवन शैलीहरु पुर्नलेखन गर्न पाएमा राम्रो हुने थियो भन्ने लाग्दछ । मैले त सुरुवाती अवस्थाको समयमा मात्र लेखेको युवा पुस्ताको लेखन यात्रा हो । जुन एक्काइसौ शताब्दीको भन्दा पनि फरक पर्दैन । सुरु देखि अन्त सम्म अध्ययन नगरी शिर्षक मात्र पढेर प्रतिक्रिया दिने बानीमा सुधार गरौ ।
लेखक याम बहादुर थापा मगर
बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे, धौलेचउर, बागलुङ