भाद्र २ गते ढोरपाटन
भोलि भाद्र ३ गते परेको जनैपूर्णिमाको अवसरमा ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराह मन्दिरमा पुजा आजा गर्न, भागल गर्न तथा भेटी चढाउन नेपालका विभिन्न स्थानबाट धार्मिक तथा पर्यटकीय स्थल ढोरपाटनमा सयौँ श्रद्धालु भक्तजन तथा दर्शक ढोरपाटन पुगेका छन ।

ढोरबराहको दर्शन गरेमा तथा भेडाको बली चढाएमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ । परापूर्व कालदेखि ढोरपाटन उपत्यकामा रहेको ढोरबराह मन्दिरमा पुजा आजा गर्न जनैपूर्णिमा र बैसाखे पूर्णिमाको अवसरमा श्रद्धालु भक्तजन ढोरपाटनमा पुग्ने गरेका हुन ।
बागलुङ जिल्ला सहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, सहित बुटवल, पोखरा काठमान्डौ लगायत देशका विभिन्न क्षेत्रबाट ढोरपाटनमा आउने गरेको पाइन्छ ।

सडक असहज भएपनि जिप, बस, मोटरसाइकल, पिक अप मार्फत ढोरपाटन जानेको सँख्या वृद्धि भएको हो । बिहान सबेरै देखि ढोरबराह मन्दिरमा पूजापाठ हुने भएपछि भेडा खरिद गर्नेहरू शनिबार देखि ढोरपाटन पुगेका हुन ।
उता स्थानीय क्लबको आयोजनामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएपछि खेलप्रेमी, खेलाडी र दर्शकको समेत राम्रो उपस्थिति ढोरपाटनमा देखिएको छ ।










