साउन ३२
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–१ बोङ्गादोभान स्थित बोङ्गाखोलामा मोटरेवल पुल निर्माण ४ बर्षमा सम्पन्न भएको छ ।
पुल बनेपछि स्थानीय नागरिक हर्षित भएका छन् । बर्षातको करिब ५ महिना सिधा सवारीका साधन चल्न नसक्ने अवस्थाम रहेकोमा अब पुल बनेपछि सहज रुपमा वडा नम्बर २,३,४,५ र ६ का नागरिक उक्त खोला पार गरेर सवारीबाट यात्रा गर्न सक्ने भएका हुन । विभिन्न स्थानमा पुग्नका निम्ती सहज हुने भएको हो । उक्त पुल बनेपनी गाउँपालिकाको सबै वडामा सहज रुपमा पुग्नका निम्ती अझै ८ वटा मोटरेवल पुल आवस्यक रहेको पालिकाले जनाएको छ ।
दुई वर्ष अगाडि सकिनु पर्ने पुल यसै साता मात्रै सम्पन्न भएको छ पुल निर्माणका लागि वि।सं। २०७७ पौष १६ गते सम्झौता भएको थियो । वि।सं। २०७९ चैत ३० गतेसम्म काम सक्नु पर्ने भए पनि निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनको ढिलासुस्तीका कारण चार वर्ष लागेको हो ।
हरेक वर्ष वर्षातको समयमा बोङ्गाखोलामा पानीको बहाव बढेर आउने हुँदा यातायात संचालन हुन सक्दैनन् । यस वर्ष पनि असारदेखि दोस्रो सातादेखि ठप्प भएका सवारी साधान कार्तिक लागेपछि मात्रै संचालनमा हुने गर्थे । स्थानीय वारपार गर्न झोलुङ्गे पुलको सहायता लिने गरेका छन् । यो खोला पार गरेर मात्रै पालिका केन्द्र पुगिन्छ । भौगोलिक हिसाबले विकट मानिने तमानखोलामा थुप्रै खोलाहरु छन् । यहाँ पुल नबन्दा वडा नम्बर १ र २ का केही गाउँ बाहेक अन्य वडाका नागरिकहरु बर्खामा पालिकासम्म सिधा यातायात गर्न पाउँदैनथे ।
पुल निर्माणका लागि तीन करोड १० लाख ६८ हजार ११३ लागत अनुमान गरेकामा निर्माण कम्पनीले दुई करोड ७१ लाख २७ हजार ९६४ मा जिम्मा लिएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले बताउनुभयो । निर्माण कम्पनीलाई करिब ६० लाख भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाइ छ । विनियोजित बजेट कम भएको हुँदा भुक्तानी गर्न नसकेको अधिकारी बताउनुहुन्छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताउनुभयो । गाउँपालिका भर बाह्रै महिना सडक संचालन गर्न अझै आठ वटा मोटरेवल पुल निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख ६७ हजार ९२६ रुपैयाँ लागतमा भिकोस घाटमा मोटरेवल पुल निर्माण गरेको सुनाउनु भयो । बोङ्गाखोलामा पुल निर्माण भएपछि वडा नम्बर १ का नागरिकलाई सहज भएको बताउनुभयो ।
अध्यक्ष बुढा मगरले भन्नुभयो – “बोङ्गाखोलामा पुल बनेपछि वडा नम्बर १ का नागरिकहरु अब पालिकाको केन्द्रसम्म गाडीमै आउन सक्छन्, यसभन्दा अगाडि वडा नम्बर २ बाहेक धेरै ठाउँबाट पालिका केन्द्रमा आउन निकै समस्या थियो, यो पुल दुई वर्ष पहिलेनै बन्नु पर्ने थियो तर निर्माण कम्पनीले अटेरी गर्दा अहिले बल्ल सम्पन्न भयो ।”
बोङ्गाखोलामा मोटरेवल पुल निर्माण सम्पन्न भएसंगै स्थानीय खुसि ।

