असार १८ गते बुर्तिबाङ
निसीखोला गाउँपालिका वडा नम्बर २ ले सोमबार एक कार्यक्रमका बिच अन्तर जातीय विवाह गर्ने जोडी र ७ वटा सामुदायिक विद्यालयका ४२ जना विद्यार्थीलाई स्टेसनरी सहित सम्मान गरेको छ ।

वडा नम्बर २ को आर्थिक बर्ष २०८०÷८१ को कार्यक्रम अन्र्तगत वडाभरि अन्तर जातीय विवाह गरेका जोडी सहित आर्थिक रुपमा कमजोर रहि पढाईबाट बञ्चित रहेका तथा अति विपन्न परिवारका ४२ जना बालबालिकालाई स्टेसनरी ले सम्मान गरिएको हो ।


विशेष गरी दलित समुदाय र अन्य जाती बिच विवाह गरेका ६ जोडीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । समाजमा अझै पनि जातीय भेदभाव र छुवाछुत व्याप्त रहेको सन्दर्भमा त्यसलाई चिर्न र अन्तरजातीय विवाह गर्दे गर्दा समाजले हेर्ने दृष्टिकोणलाई चिर्नका निम्ती र सकारात्मक सन्देश दिने उद्देश्य स्वरुप सम्मान कार्यक्रमको आयोजना गरिएको वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्माले बताउनु भयो ।

२०७२ सालको संविधानमा निदृष्ट गरेको जातीय छुवाछुत अन्त्यका निम्ती समाजबाटै सकारात्मक स्पमा अगाडि बढ्नुपर्दछ भन्ने मान्यता अनुसार अन्तर जातीय विवाह गरेका जोडीलाई समाजले पनी सम्मान गरोस् र उहाँहरूलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप एक कार्यक्रमका बिच सम्मान गरिएको अध्यक्ष बिकको भनाई छ । अन्तरजातीय विवाहमा सम्मान भएका जोडीले वडा कार्यालयले यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेको धन्यबाद व्यक्त गर्दे समाजमा अझै पनि बाँकी रहेको जातीय छुवाछुत र भेदभावका निम्ती सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन ।

सहभागि छमकला बराल मगरले बोल्दै भन्नुभयो आफूले दलित सँग विवाह गर्दे गर्दा सुरुवाती चरणमा समाजकै कारण केही असहज भएपनि अहिले सुन्दर सन्सार बिताईरहेको बताउनु भयो । मानिस मानिस एकै भएको र जात केबल पुरुष र महिलाको मात्र रहेको बताउँदै सचेत मानिसबाट समाजमा हुँदै आइरहेको जातीय छुवाछुत र भेदबाद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सोमबार आयोजित कार्यक्रममा वडा अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता,गण्डकी प्रदेशका पूर्व सांसद खिम विक्रम शाही, वडा अध्यक्ष, सामाजिक अगुवा, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । सहभागिले यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै वडा नम्बर दुई लाई धन्यबाद ज्ञापन गरेका हुन । दलित महिला सचेतना कार्यक्रमको समेत आयोजना गरेको वडाले हक अधिकार संगै भेदभाब र छुवाछुत गर्दा हुने कानुनी पाटो र त्यसको अवस्था लगाएतका विषयमा समेत जानकारी गराइएको थियो ।










