बागलुङ जेठ ३० गते
बागलुङको निसीखोला गाउँपालिकाले जेठ २९ गतेसम्म चालु आर्थिक वर्षको राजश्व सङ्कलनको लक्ष्य हासिल गरेको छ ।प्रत्यक बर्स राजश्व वृद्धि गरिरहेको पालिकाले जेठ २९ गतेसम्म ४५ लाख २१ हजार ६ सय ३६ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्तिले बताउनु भयो ।
आर्थिक बर्ष २०८०÷०८१ को निती कार्यक्रम अनुसार आगामी असार मसान्त सम्म कुल ४४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको पालिकाले लक्ष्य पुरा गरिसकेको हो । असार मसान्त सम्म एक सय बिस प्रतिशत हाराहारीमा संकलन हुने आँकलन गरिएको उपाध्यक्ष घर्तिले बताउनु भयो ।
विशेष गरि व्यवसाय, घरबहाल कर, गिटी , बालुवा लगायतमा लगाइएको करबाट उक्त मात्रामा राजश्व संकलन गर्न सफल भएको गाउँपालिका सूचना अधिकारी डिलाराम बाठा मगरले बताउनु भयो ।
पालिका कार्यालयबाट कुल १२ लाख ५० हजार संकलन भएकोमा वडा तहमा सबैभन्दा बढि वडा नं. २ मा राजश्व संकलन भएको हो । उक्त वडामा ६ लाख ४६ हजार ८ सय ८३ रुपैयाँ संकलन भएको छ ।
वडा नम्बर १ मा ४ लाख ३४ हजार ३ सय ७८ रुपैयाँ, वडा नं. ३ मा ५ लाख १० हजार २ सय ७९ रुपैयाँ, वडा नं. ४ मा ४ लाख ३३ हजार ८ सय २५ रुपैयाँ संकलन भएको हो । त्यस्तै वडा नम्बर ५ मा ३ लाख ९६ हजार ७ सय ७७, वडा नम्बर ६ मा ५ लाख ३९ हजार ४ सय ९४ रुपैयाँ र वडा नं. ७ मा ३ लाख १० हजार संकलन भएको बाठा मगरको भनाई छ ।
गतवर्ष समेत ४० लाख लक्ष्य लिएको पालिकाले ६० लाख संकलन गरेको थियो यसवर्ष समेत सोही अनुपातमा संकलन हुने उपाध्यक्ष प्रेम घर्तिको भनाई छ । पालिकाले राजश्व बुद्धिका निम्ति विभिन्न स्थानमा ढुँगा खानी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
वडा नं. ५ को विमल ढुँगा खानी र राकाडा रेरे ढुंगा खानीको सम्भाव्यता अध्ययन भइरहेको र प्रकृयामा गएपछि रोजगारीको सृजना सँगै राजश्व बुद्धिमा सहयोग पुग्ने बताउनु भयो ।