ढोरपाटन र निसीमा  भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम ।

चैत्र २२ गते ढोरपाटन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम बिहीबार ढोरपाटन नगरपालिकाको बुर्तिबाङ र निसीखोला गाउँपालिकाको जुग्जाखोलामा सम्पन्न भएको छ । सदाचार, निष्पक्षता निर्भीकता भन्ने मुख्य नारा सहित स्थानीय पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, उपभोक्ता समिति लगायतलाई लक्षित गर्दे आयोजना गरिएको कार्यक्रममा भ्रष्टाचार नियन्त्रण कसरी गर्न सकिन्छ र कसरी सुशासन कायम गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल एवम् अन्तरक्रिया गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका उपसचिव जगदिश चन्द्र शिवाकोटीले कार्यक्रमका विषय माथि प्रकाश पार्दै भ्रष्टाचार बढ्नुमा ठूला बडाबाटै रहेको बताउँदै राज्यले लिएको कानुनको परिपालना गर्दे सबै तह तप्काबाट भ्रष्टाचारको शून्य सहनशीलता कायम गर्दे प्रर्वद्धनात्मक र विद्यमान कानुनी व्यवस्थाको परिपालन गर्नुपर्ने बताउनु भयो ।

नेपालमा भ्रष्टाचार कम हुन नसकिरहेको बताउँदै सबैभन्दा बढि स्थानीय तहमा ६० प्रतिशत सम्म भ्रष्टाचारका उजुरी पर्ने गरेको बताउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु वर्षको हालसम्म २८ हजार बढि उजुरी रहेको बताउँदै गत वर्षको ७ हजार १ सय ६२ र यस वर्षको २० हजार ९ सय ५ उजुरी रहँदै गर्दा ३७ प्रतिशत उजुरीको फर्छाेट भइसकेको बताइएको छ ।

बिगोदाबी लिइएको उजुरी मध्ये सबैभन्दा बढि संख्यामा  राष्ट्रसेवक कर्मचारी, त्यसपछि निर्वाचित मनोनित व्यक्ति र मतियार र अन्य रहेको पाइएको छ । भ्रष्टाचार जन्य विभिन्न २२ कसुरमा सजाय र जरिवाना रहेको बताउँदै अख्तियार अनुसन्धान आयोगमा उजुरी पर्देमा भ्रष्टाचार ठहर नहुने र तामेली र वृहत अनुसन्धान बाट मात्रै प्रकृया अगाडि बद्ने भएका कारण उजुरी सँगै अनुसन्धान समेत सोही बमोजिम अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रमका अवसरमा सहभागीहरूले बेनामी र प्रमाण बिनाका उजुरी हालेर कतिपय व्यक्तिले अरुलाई दुख दिने काम गरिरहेका कारण त्यसको कानुनी उपचार र अनुसन्धानको अवस्था लगायतका विषयमा समेत जिज्ञासा राखेका हुन । यस विषयमा शिवाकोटीले आफ्नो धारणा राख्दै हालसम्म बेनामी र पटकै पिच्छे प्रमाण विनाका उजुरी दिनेलाई त्यस्तो कठोर कारवाही नभएको बताउँदै पटक पटक प्रमाण विनाका एकै व्यक्तिले उजुरी गरेमा त्यसलाई प्राथमिकता नदिइएको बताउनु भयो ।

ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बोल्दै भ्रष्टाचार अन्त्यका निम्ति सबैले आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउँदै स्थानीय तहमा बेनामी र प्रमाण विनाका उजुरी अख्तियार अनुसन्धान आयोगमा पठाउने प्रवृत्तिले गर्दा आफूहरू लाई काम गर्न असहज भइरहेको बताउनु भयो ।

अनावश्यक प्रमाण विनाका उजुरी राख्दै गर्दा अख्तियारलाई जवाफ दिँदैमा समय खेर गइरहेको बताउँदै कानुनी प्रकृया बमोजिम काम गर्दे गर्दा पनि दुख दिने नियतले उजुरी दिने गरिएका कारण कार्यसम्पादनमा असहज हुने गरेको प्रस्ट पार्नुभएको हो ।

ढोरपाटन नगरपालिका वडा नं. ७ का अध्यक्ष धन बहादुर अदैले समेत आफ्नो धारणा राख्नु भएको थियो । सहभागीको तर्फदेखि धन बहादुर कुवँर, दीपक थापा, धन बहादुर महत, देब बहादुर सुनार, प्रेमनाथ पौडेल लगायतले आफ्नो जिज्ञासा राख्नु भएको हो । कार्यक्रम प्रहरी सहायक निरीक्षक विधान सिंह क्षेत्रीले सञ्चालन गर्नुभएको थियो ।

त्यस्तै निसीखोला गाउँपालिकाको जुग्जाखोलामा समेत कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।गाउँपालिका जनप्रतिनिधि, विभिन्न संघसंस्था प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी लगायतको उपश्थितीमा कार्यक्रम भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित