
चैत्र २५ गते बुर्तिबाङ
नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ ।
ढोरपाटन नगरपालिकाको आर्थिक व्यवस्थापन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा ढोरपाटन नगरपालिकाको वडा नम्बर ९ र ६ मा पर्ने ढोरपाटन उपत्यकामा परीक्षण उडान गरिएको हो ।
ढोरपाटन नगरपालिकाको आर्थिक सहयोगमा ढोरपाटन क्षेत्रमा प्याराग्लाइडिङ परीक्षण पटके उडान अनुमति प्रदान गरिएको नागरिक उड्डन प्राधिकरणका उपप्रबन्धक चुडाबहादुर खड्काले जानकारी दिए । उनका अनुसार ब्लू इस्काई प्याराग्लाइडिङ प्रालि पोखराले चैत २३ देखि २५ गतेसम्म परीक्षण उडानको जिम्मा पाएको थियो। प्रालिले उडान सञ्चालन समाप्त भएपछि सो प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्नेछ ।शुक्रबार ढोरपाटनको मसिनधाराबाट उडान शुरु गरिएको प्याराग्लाइडिङ तल्लोचौरमा सफल ल्याण्ड गरिएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए ।
‘ढोरपाटन नगरपालिकाबाट हामीले परीक्षण उडान भनेर ३ लाख रुपैयाँ रकम विनियोजन गरेको थियौं,’ उपप्रमुख कायतले भने, ‘ वन्यजन्तु संरक्षण विभागको सहमतिपछि आर्मी क्याम बाहिर प्याराग्लाइडिङले परीक्षण उडान गरेको छ ।’उनका अनुसार बिहान ८ बजेदेखि दिउँसो ३ बजेभित्र परीक्षण उडान गरियको थियो ।
दुई दिन गरिएको परिक्षण उडान सफल रहेका कारण प्रतिवेदन आएपछि ढोरपाटनमा प्याराग्लाइडिङको सम्भावना रहनेमा आफु आशाबादी रहेको कायतको भनाई छ । प्याराग्लाइडिङ परिक्षण रिर्पाट सफल भएसंगै थप ढोरापाटनको प्रर्यटन प्रर्वधनमा टेवा पुग्ने स्थानीयको आंकलन रहेको छ ।पक्कि सडक निर्माणमा ढिलाई भइरहेका कारण ढोरपाटन पुग्ने प्रर्यटकलाई असहज भइरहेको अवस्थामा सिधा र सहज सडक सञ्जाल जोडिएमा ढोरपाटनमा आन्तरिक तथा बाह्य प्रर्यटक आवागमनमा बृद्धि हुने उपप्रमुख कायतले बताए ।