ढोरपाटनको बोबाङमा आलु चिप्स उद्योग सञ्चालनमा, स्थानीय उत्पादनको बजारीकरणमा नयाँ पहल

ढोरपाटन, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–७ बोबाङमा स्थानीय कृषकहरूले उत्पादन गरेको आलुको प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्यले आलु चिप्स उद्योग सञ्चालनमा ल्याइएको छ। ढोरपाटन बोबाङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मातहतमा सञ्चालनमा आएको उद्योगले स्थानीयस्तरमै उत्पादित आलुलाई प्रशोधन गरी मूल्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

स्थानीय कृषकहरूले उत्पादन गरेको आलुले उचित मूल्य नपाउने तथा बजारको सुनिश्चितता नहुने समस्यालाई सम्बोधन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको हो। आलुलाई कच्चा पदार्थका रूपमा मात्र बिक्री गर्नुको सट्टा स्थानीयस्तरमै प्रशोधन गरी चिप्स उत्पादन गर्न थालेपछि कृषकले उत्पादनको थप मूल्य प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

स्थानीय स्रोत, साधन र सीपको अधिकतम उपयोग गर्दै स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले दिशो पर्यटन प्रवर्द्धन परियोजना र ढोरपाटन बोबाङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको समन्वयमा सञ्चालन गरिएको सीप विकास तालिम समेत सम्पन्न भएको छ।

तालिममा सहभागी स्थानीय उद्यमी तथा कृषकहरूले आलुको प्रशोधन, चिप्स उत्पादन, गुणस्तर व्यवस्थापन तथा आधुनिक प्याकेजिङसम्बन्धी सीप हासिल गरेका छन्। तालिम सम्पन्न भएसँगै सहभागीहरूले व्यावसायिक रूपमा आलु चिप्स उत्पादन तथा प्याकेजिङको कामसमेत सुरु गरेका छन्।

उद्योग सञ्चालन तथा सीप विकास तालिमको समापन अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा उद्योगको उद्घाटनसँगै व्यावसायिक उत्पादन सुरु भएको घोषणा गरिएको थियो।

कार्यक्रम ढोरपाटन बोबाङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष निरीता कुमाईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा ढोरपाटन नगरपालिका–७ का वडा अध्यक्ष धनबहादुर अदै प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। प्रशिक्षक कृष्णहरि तिवारी तथा उद्यम विकास अधिकृत टेकबहादुर विक विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा उद्यम विकास अधिकृत टेकबहादुर विकले स्थानीयस्तरमा उपलब्ध स्रोत तथा उत्पादनलाई प्रशोधन र बजारीकरणमार्फत उद्यममा रूपान्तरण गर्न सकिने बताउनुभयो। उहाँले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्दै उद्यमशीलताको विकास गर्न सके गाउँमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने धारणा राख्नुभयो।

तालिमका सहभागीहरूको तर्फबाट अनित अदैले तालिमका क्रममा आफूहरूले सिकेका सीप तथा अनुभवबारे जानकारी गराउँदै आगामी दिनमा आलु चिप्स उत्पादनलाई निरन्तरता दिँदै व्यावसायिक रूपमा अघि बढाउने योजना सुनाउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष धनबहादुर अदैले गाउँमै यस्ता साना तथा घरेलु उद्योग स्थापना हुनु स्थानीय आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई गाउँमै प्रशोधन गर्न सके कृषकले उचित मूल्य पाउनुका साथै स्थानीय युवाका लागि रोजगारी तथा स्वरोजगारका अवसरसमेत सिर्जना हुने उहाँको भनाइ थियो।

उहाँले स्थानीय उत्पादनको प्रवर्द्धनका लागि उद्योग सञ्चालनसँगै उत्पादनको गुणस्तर, प्याकेजिङ र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण सामाजिक परिचालन अधिकृत ओम श्रीपालीले गर्नुभएको थियो।

उद्योग उद्घाटनको अवसरमा कृषक तथा उद्यमीहरूले आफैँले उत्पादन तथा प्याकेजिङ गरेका ‘आलु चिप्स’का प्याकेटहरू प्रदर्शन गरेका थिए। स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा बजारमा लैजाने सुरुवात भएपछि सहभागी कृषक तथा उद्यमीहरू उत्साहित देखिएका थिए।

बोबाङ क्षेत्रमा आलु खेतीका लागि उपयुक्त वातावरण रहे पनि उत्पादनको उचित बजारीकरण र मूल्य प्राप्तिमा समस्या हुँदै आएको अवस्थामा स्थानीयस्तरमै प्रशोधन उद्योग सञ्चालनमा आउनुले कृषकलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

उद्योगले स्थानीय आलुको खपत बढाउनुका साथै कृषि उत्पादनको मूल्य अभिवृद्धि, ग्रामीण उद्यमशीलताको विकास, स्वरोजगार सिर्जना र स्थानीयवासीको आयआर्जन वृद्धिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

स्थानीय उत्पादनलाई स्थानीय ब्रान्डका रूपमा विकास गर्दै बजार विस्तार गर्न सके बोबाङको आलु चिप्सले ढोरपाटनको कृषि तथा पर्यटनसँगै स्थानीय अर्थतन्त्रलाई समेत जोड्ने सम्भावना देखिएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img