बुर्तिबाङ । नेपाली कांग्रेस ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दिपक कुमार अदै सर्वसम्मत निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न ढोरपाटन नगर अधिवेशनले अदैलाई नगर सभापतिमा सर्वसम्मत चयन गरेको हो।
नगर अधिवेशनबाट नगर सभापति अदैसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन्। नेतृत्व चयनका क्रममा पार्टीभित्र सहमति कायम गर्दै नयाँ नगर कार्यसमिति गठन गरिएको नेपाली कांग्रेसले जनाएको छ।
अधिवेशनबाट नगर उपसभापतिमा श्याम विक र कमला विक चयन हुनुभएको छ। त्यस्तै, नगर सचिवमा गंगा केसी तथा सह–सचिवमा कृष्ण बुढा सर्वसम्मत निर्वाचित हुनुभएको छ। अन्य पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत चयन भएका छन्।
नगर अधिवेशनको उद्घाटन सत्र नेपाली कांग्रेसका नेता दोर्ण कुमार कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू दिलमाया पौवी, अर्जुन शेरचन, देवेन्द्र घर्ती, दिपेन्द्र श्रेष्ठ र ऋषिराम कँडेल सोम पौवी, नरजंग घर्ति लगायतको आतिथ्यता रहेको थियो।

उद्घाटन सत्रमा बोल्दै नेताहरूले पार्टीको संगठनलाई थप मजबुत बनाउँदै स्थानीय तहमा जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले पार्टीभित्रको एकता, सहकार्य र आपसी समझदारीमार्फत संगठनलाई गतिशील बनाउन नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
अधिवेशनमा सहभागी कांग्रेसका नेता तथा कार्यकर्ताले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए। सर्वसम्मत रूपमा नेतृत्व चयन हुनु पार्टीभित्रको एकता र सहकार्यको सन्देश भएको नेताहरूले बताएका छन्।
नगर सभापतिमा सर्वसम्मत निर्वाचित भएपछि दिपक कुमार अदैले पार्टीलाई अझ सशक्त, संगठित र जनमुखी बनाउँदै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबीचको सहकार्यलाई प्राथमिकता दिँदै संगठन विस्तार र सुदृढीकरणमा आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
अदैले स्थानीय तहमा नेपाली कांग्रेसको संगठनलाई थप मजबुत बनाउँदै जनताका समस्या र आवश्यकता पार्टीको माध्यमबाट सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्ने बताउनुभयो। उहाँले सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
१५औँ महाधिवेशनअन्तर्गत ढोरपाटन नगरपालिकाका विभिन्न वडामा वडा तहको नेतृत्व चयन सम्पन्न भएसँगै नगरस्तरीय नेतृत्वसमेत सर्वसम्मत चयन भएको हो। नगर कार्यसमितिको नयाँ नेतृत्वले आगामी दिनमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नगर अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएपछि ढोरपाटनमा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने बाटो खुलेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्।

















