ढोरपाटन — बागलुङको ढोरपाटन नगरपालिकामा बालविवाहको अवस्था अझै चुनौतीपूर्ण देखिएको छ। बालविवाह न्यूनीकरणका लागि विभिन्न कानुनी व्यवस्था तथा सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आए पनि विवाह गर्ने कानुनी उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या घट्न सकेको छैन।
नगरपालिकामा वास्तविक रूपमा कति बालविवाह भएका छन् भन्ने यकिन तथ्याङ्क उपलब्ध नभए पनि स्वास्थ्य संस्थामा दर्ता भएको सुत्केरीसम्बन्धी तथ्याङ्कले बालविवाह तथा कम उमेरमै गर्भधारणको समस्या अझै कायम रहेको देखाउँछ।
ढोरपाटन नगरपालिकाको स्वास्थ्य शाखाबाट प्राप्त तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४०० जना महिला सुत्केरी भएकामा ६७ जना २० वर्षभन्दा कम उमेरका थिए। त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ४०७ जना सुत्केरी भएकामा ६१ जना र आर्थिक वर्ष २०८२/०८३ मा ४३५ जना सुत्केरी भएकामा ७० जना २० वर्ष नपुगेका किशोरी रहेका छन्।
तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा कुल १ हजार २४२ जना महिला सुत्केरी भएकामा १९८ जना अर्थात् करिब १६ प्रतिशत २० वर्ष नपुग्दै आमा बनेका देखिन्छन्। तथ्याङ्कले प्रत्येक वर्ष कम उमेरमै मातृत्व ग्रहण गर्ने किशोरीको संख्या उल्लेख्य रहेको देखाएको छ।

कानुनले २० वर्षअघि विवाहलाई अपराध मानेको छ
नेपालको प्रचलित कानुनले विवाहका लागि महिला र पुरुष दुवैको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। मुलुकी देवानी संहिता, २०७४ को दफा ७० मा विवाह हुनका लागि २० वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ। त्यस्तै दफा ७१ ले कानुनबमोजिम विवाह हुन सक्ने अवस्था नरहेको व्यक्तिसँग विवाह गर्न वा गराउन रोक लगाएको छ।
यसैगरी मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ ले २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था गरेको छ। सो व्यवस्थाविपरीत भएको विवाह स्वतः बदर हुने र बालविवाह गराउने वा गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। बालविवाह गर्न आदेश वा निर्देशन दिने, दुरुत्साहन गर्ने वा सहयोग गर्ने व्यक्तिलाई समेत मुख्य कसुरदारसरह सजाय हुने व्यवस्था छ।
सचेतना कार्यक्रम भए पनि व्यवहारमा समस्या
स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा विभिन्न सामाजिक संघसंस्थाले बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। तर सामाजिक तथा पारिवारिक दबाब, कमजोर आर्थिक अवस्था, विद्यालय शिक्षा निरन्तर नहुनु, किशोर–किशोरीबीचको सम्बन्ध, वैदेशिक रोजगारीका कारण अभिभावकको लामो अनुपस्थिति लगायतका कारण कम उमेरमै विवाह तथा गर्भधारणको अवस्था कायम रहेको स्थानीय सरोकारवालाहरूको बुझाइ छ।
स्वास्थ्य संस्थामा देखिएको तथ्याङ्कले पनि बालविवाहको वास्तविक अवस्था अझै गहिरो रूपमा अध्ययन गर्नुपर्ने देखाएको छ। २० वर्ष नपुग्दै सुत्केरी हुने सबै किशोरीको विवाह पनि २० वर्ष नपुग्दै भएको हो भन्ने निष्कर्ष निकाल्न भने मिल्दैन। त्यसैले बालविवाह र कम उमेरमा मातृत्वको तथ्याङ्कलाई छुट्टाछुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता देखिन्छ।
बालविवाह रोकथामका लागि कानुनी कारबाहीसँगै विद्यालय तहदेखि नै किशोर–किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य, विवाहको कानुनी उमेर, बाल अधिकार र बालविवाहका असरबारे प्रभावकारी शिक्षा दिनुपर्ने देखिन्छ। साथै अभिभावक, समुदाय, विद्यालय, स्वास्थ्य संस्था, प्रहरी र स्थानीय तहबीच समन्वय बढाउनुपर्ने आवश्यकता रहेको छ।
बालविवाहले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक जीवनमा दीर्घकालीन असर पार्न सक्ने भएकाले कानुनमा व्यवस्था भएको सजाय कार्यान्वयनसँगै यसको सामाजिक कारण पहिचान गरी निरन्तर अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ।
फोटो डिजाईन AI

















