बुर्तिबाङ, साउन १८ – बागलुङको ढोरपाटन नगरपालिका–१ मा ८५ वर्षीया वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार गत साउन १५ गते दिउँसो ८५ वर्षीया वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २८ वर्षीय सुमन कुमाल पक्राउ परेका हुन्।
घटनापछि पक्राउ परेका कुमाललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ। अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय बागलुङको पश्चिम क्षेत्रमा नाबालिकामाथि हुने यौनजन्य हिंसा, ज्येष्ठ नागरिकमाथिका यौन अपराध तथा आत्महत्याका घटनामा वृद्धि हुँदै गएको देखिएकाले यस्ता घटनाको रोकथामका लागि सम्बन्धित निकाय र समुदायको सक्रियता आवश्यक रहेको स्थानीयवासीले बताएका छन्।

















