बुर्तिबाङ, साउन – बागलुङको बुर्तिबाङमा दोस्रो संस्करणको ढोरपाटन लायन्स ब्याडमिन्टन कप–२०८३ आयोजना हुने भएको छ। लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा आगामी असोज २ गतेदेखि ९ गतेसम्म बुर्तिबाङस्थित ब्याडमिन्टन कभर्डहलमा प्रतियोगिता सञ्चालन गरिने भएको हो।
‘खेल पर्यटन, गन्तव्य ढोरपाटन’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। गत वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको क्लबका अध्यक्ष हेमेन्द्र घर्तीले जानकारी दिनुभयो।
प्रतियोगितामा ‘बी’ लेभल खुला राष्ट्रिय, ४५ वर्षमाथिको राष्ट्रिय भेट्रान, ५० वर्षमाथिको राष्ट्रिय सुपर भेट्रान तथा अन्तर–बागलुङ जिल्ला ‘सी’ लेभल गरी चार विधामा प्रतिस्पर्धा हुनेछ।
खुला राष्ट्रिय, ४५ वर्षमाथिको भेट्रान र ५० वर्षमाथिको सुपर भेट्रानतर्फ प्रथम हुने जोडीले ५० हजार रुपैयाँ, द्वितीयले ३५ हजार रुपैयाँ तथा संयुक्त तृतीयले जनही १०/१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

यस्तै, अन्तर–बागलुङ जिल्ला ‘सी’ लेभल प्रतियोगितामा प्रथम ४० हजार रुपैयाँ, द्वितीय २५ हजार रुपैयाँ तथा संयुक्त तृतीयलाई जनही ७/७ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। सबै विधाका विजेतालाई कप, पदक र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी–३२५), नेपाल अन्तर्गत आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको छ। क्लबका पदाधिकारीका अनुसार प्रतियोगिताले पश्चिम बागलुङमा ब्याडमिन्टन खेलको विकास, नयाँ खेलाडी उत्पादन तथा ढोरपाटन क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टोलीहरूका लागि दर्ता प्रक्रिया र प्रतियोगिताको विस्तृत कार्यतालिका छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

















