बुर्तिबाङ बागलुङको निसीखोला गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन बुधबारदेखि सुरु भएको छ । अधिवेशनमा गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ । नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित स्थानीय सरकारका गतिविधिलाई थप प्रविधिमैत्री बनाउने नीति लिइएको छ ।
कृषि क्षेत्रको विकासका लागि साना सिँचाइ कार्यक्रमलाई प्राथमिकता दिने, कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण, उन्नत बीउविजन तथा मल व्यवस्थापनमा जोड दिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । साथै उत्पादनमुखी कृषि प्रणाली विकासका लागि “एक घर, एक वास्तविक किसान” कार्यक्रमलाई अगाडि बढाउने योजना गाउँपालिकाले लिएको छ ।
पूर्वाधार विकासतर्फ सडक निर्माणलाई प्राथमिकता दिँदै दीर्घकालीन महत्वका भौतिक संरचना निर्माणमा ध्यान दिने नीति लिइएको छ । शिक्षा क्षेत्रमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा जंकफुड निषेध गर्ने तथा स्वस्थ वातावरण निर्माण गर्ने नीति कार्यक्रममा समेटिएको छ ।

स्वास्थ्य सेवातर्फ “घरदैलोमा स्थानीय सरकार” भन्ने अवधारणालाई प्राथमिकता दिँदै स्वास्थ्य सेवा विस्तार गर्ने, नागरिकले निःशुल्क प्राप्त गर्ने औषधिबारे आवश्यक जानकारी उपलब्ध गराउने नीति लिइएको छ ।
यसैगरी प्रभावकारी न्याय सम्पादन, कर्मचारी क्षमता विकास, संस्थागत सुधार तथा सुशासन प्रवर्द्धनका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ ।
अधिवेशन उद्घाटन कार्यक्रममा पूर्व गण्डकी प्रदेश सांसद खिम विक्रम शाही, पूर्व गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन, वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार तथा प्रहरी प्रतिनिधिको उपस्थिति रहेको थियो ।

















