बुर्तिबाङ ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसँगै ६२ करोड ७० लाख ६६ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरसभाबाट प्रस्तुत नीति तथा कार्यक्रममा प्रविधिमैत्री सेवा प्रवाहसँगै नागरिकमैत्री कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
नगरसभा सदस्य विमला महतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नगरपालिकालाई पोषणमैत्री बनाउन आवश्यक सबै सूचक पूरा गर्ने गरी कार्यक्रम अगाडि बढाउने उल्लेख गरिएको छ ।
नगरपालिकाले निःशुल्क स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकास, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाको व्यवस्थापन तथा आवश्यक कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।
यस्तै नगरपालिका क्षेत्रभित्र व्यवस्थित बस्ती विकासका लागि घर तथा भवन निर्माण मापदण्ड तयार गरी नक्सा पास गरेर मात्र निर्माण गर्न दिने नीति लिइएको छ ।

नीति कार्यक्रममा कृषक प्रोत्साहन कार्यक्रम, स्थानीय उत्पादनलाई प्राथमिकता, पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवर्द्धन, नगर गौरवका योजना, फोहोर व्यवस्थापन, सिँचाइ तथा ‘एक घर एक खानेपानी धारा’ जस्ता कार्यक्रम समेटिएका छन् ।
नगरसभाका सभाध्यक्ष धनबहादुर कायत–कल्याणले प्रस्तुत गर्नुभएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार विकास, पुल निर्माण तथा नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
ढोरपाटनमा आलु महोत्सव आयोजना गर्ने योजना समेत बजेटमा समावेश गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट २ करोड ९९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा नगरसभाका सभाध्यक्ष धनबहादुर कायत, नगरपालिकाका सचिव चिरञ्जीवी घिमिरे, नगरसभा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

















