बागलुङ तमानखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न गाउँसभाबाट गाउँपालिकाले ७३ बुँदे नीति तथा कार्यक्रम पारित गरेको हो ।
गाउँपालिकाले कृषि क्षेत्रको विकास, लघु उद्यम प्रवर्द्धन, युवा स्वरोजगारमूलक कार्यक्रम तथा व्यावसायिक कृषक प्रोत्साहनलाई प्राथमिकतामा राखेको छ ।
कृषि, पर्यटन र उद्यम विकासको पर्याप्त सम्भावना रहेकाले होमस्टे प्रवर्द्धन, कृषि बजारीकरण, लगानीमैत्री वातावरण निर्माण लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा उल्लेख छ ।
नीति कार्यक्रममा “गुणस्तरीय विद्यालय शिक्षा तमानखोलाको प्रतिज्ञा”, “जेहेन्दारलाई कदर” र “शिक्षामा अवसर” जस्ता कार्यक्रम अगाडि सारिएको छ । गाउँपालिकालाई पोषणमैत्री पालिका बनाउने उद्देश्यसहित आवश्यक सूचक पूरा गर्ने कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रको विकास तथा विस्तार गर्ने, दलित तथा जनजाति समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै सडक स्तरोन्नति, खानेपानी तथा सरसफाइ, उद्यमीलाई प्रोत्साहन, सहुलियत ऋण तथा अनुदान कार्यक्रमलाई समेत नीति कार्यक्रममा समेटिएको छ । गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकता दिइएको छ ।
खेलकुद विकास, नेतृत्व विकास, सीप विकास तथा विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विभिन्न कार्यक्रम समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभामा न्यायिक समिति संयोजक हिरा कुमारी छन्त्यालले प्रस्तुत गर्नुभएको न्यायिक समिति पहिलो संशोधन विधेयक २०८३ पारित गरिएको छ । यस्तै गाउँपालिकाको संगठन तथा व्यवस्थापन सम्बन्धी प्रस्ताव छ प्रसाद श्रीपालीले प्रस्तुत गर्नुभएको थियो, जुन सभाबाट पारित भएको छ ।
कार्यक्रममा मन कुमारी बुढाथोकीले गाउँपालिकाको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा पेश भएका विभिन्न प्रतिवेदन समेत पारित गरिएको छ ।
गाउँपालिकाले बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यक्रममा गाउँसभा सचिव अमित परियार, गाउँसभाका सदस्य, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

















