बागलुङको वडिगाड गाउँपालिकामा लामो समयदेखि कृषि क्षेत्रमा सक्रिय उत्कृष्ट कृषक छनौट गरिएको छ । २०८२ सालदेखि सञ्चालन भएको वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत आइतबार आयोजित लगानी प्रस्तुतीकरण कार्यक्रमबाट वडिगाड गाउँपालिका–७ का जीवबहादुर खत्री पालिकाकै उत्कृष्ट कृषकको रुपमा छनौट हुनुभएको हो ।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, वडिगाड गाउँपालिका र दायित्व संस्थाको संयुक्त पहलमा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका भित्र रहेका ९१ जना कृषकको पहिचान र स्तरीकरणबाट प्रक्रिया सुरु गरिएको थियो । विभिन्न चरण पार गर्दै उत्कृष्ट किसान छनौट गरिएको हो ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा ९१ जना कृषकमध्ये ४० जनालाई संक्षेपीकरण गरिएको थियो । त्यसबाट २० जना कृषक छनौट गरी व्यवसाय विस्तारको उद्देश्यसहित जनही २५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको थियो । त्यसपछि द्रुतिकरण प्रक्रियाबाट १० जना कृषक छनौट भएका थिए । उक्त चरणमा सहभागी कृषकलाई व्यवसाय विस्तारका लागि जनही २ लाख रुपैयाँ उपलब्ध गराइएको थियो ।
१० जना कृषकमध्ये उत्कृष्ट छनौट कार्यक्रमअन्तर्गत आइतबार भएको अन्तिम प्रस्तुतीकरणबाट जीवबहादुर खत्री उत्कृष्ट बन्न सफल हुनुभएको दायित्व परियोजनाका प्रदेश संयोजक विजय जिसीले जानकारी दिनुभयो । उत्कृष्ट कृषक खत्रीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ । उत्कृष्ट छनौट कार्यक्रममा विभिन्न विधि अवलम्वन गरिएको थियो ।

कृषकको वर्गीकरण, व्यवसाय विस्तार र दिगोपनाका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनुभयो । कृषि क्षेत्रबाट गाउँपालिकालाई आत्मनिर्भर बनाउन र स्वरोजगार सिर्जना गर्न सम्भावना रहेको भन्दै उहाँले मेहनती किसानलाई गाउँपालिकाले निरन्तर सहयोग गर्ने बताउनुभयो ।
आफूहरूको मेहनतलाई स्थानीय सरकारले पहिचान गरेको र यस्ता कार्यक्रमले थप हौसला प्रदान गरेको कृषकहरूले बताएका छन् ।
दायित्व संस्थाका संयोजक सञ्जय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडिगाड गाउँपालिका उपाध्यक्ष भिमेशन वन, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, कृषक तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कृषकहरूले आफ्नो व्यवसाय सञ्चालन गर्नुका कारण, सफलताका सूत्र, संघर्ष र अनुभवबारे प्रस्तुतीकरण गरेका थिए ।

















