बागलुङको तमानखोला गाउँपालिकाले १५ जना श्रमिकलाई सम्मान गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा रोजगारका लागि सिफारिस भएका व्यक्तिमध्ये वडा नम्बर ६ का श्रमिकलाई एक कार्यक्रमकाबीच सम्मानपत्र प्रदान गरेको हो ।
श्रमिकलाई आगामी दिनमा आफ्नै गाउँठाउँमा श्रम गरी जीविकोपार्जन गर्न प्रोत्साहन गर्ने तथा थप सीप विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले गाउँकार्यपालिकाको निर्णयअनुसार सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनुभयो ।
गत गाउँपालिकामा कुल ७९९ वडा सुचिकृत भएको मध्ये तमानखोला गाउँपालिकामा कुल ७ सय ९९ जना रोजगारका लागि सूचीकृत भएका थिए । जसमध्ये ६ वटै वडाबाट ८१ जनाले विभिन्न विकास आयोजनामा श्रमिकका रूपमा सरकारले तोकेको पारिश्रमिकमा काम गरेका छन् ।

गाउँपालिकाले लघु उद्यम, सीप विकास तालिम तथा व्यवसाय प्रवर्द्धनका कार्यक्रममार्फत स्थानीयलाई स्वरोजगारतर्फ जोड्दै आएको छ । सीप सिकेर आफ्नै गाउँमा आत्मनिर्भर बन्न उपाध्यक्ष छन्त्यालले श्रमिकलाई आग्रह गर्नुभयो ।








