२०८२ मंसिर ३ ,
काठमाण्डौ – आज विश्व शौचालय दिवस मनाईंदैछ । व्यक्तिगत, सामुदायिक, सरकारी, निजी क्षेत्र तथा गैरसरकारी संस्थाले सरसफाइ कार्यक्रम, विद्यालयमा सरसफाइबारे कक्षा, सार्वजनिक छलफल, नीतिसंवाद, अनुभव आदानप्रदानलगायतका कार्यक्रम हुँदैछन् ।

सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने बानी हटाउनुपर्ने साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिएर दिवस मनाउन लागिएको हो । औपचारिकरुपमा सन् २०१३ देखि मनाउन थालिएको शौचालय दिवसको मुख्य उद्देश्य सबैका लागि पहुँचयोग्य सुरक्षित शौचालयमा जोड रहेको छ । साथै पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तर्राष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि गर्नु पनि यसको उद्देश्य हो ।
राष्ट्रसङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्त रूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ । तीन अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित भएका तथा ३५ करोड ४० लाख मानिस अझै खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएका राष्ट्रसङ्घले जनाएको छ ।

महिला र बालिकालाई विभिन्न जोखिमबाट जोगाउन शौचालयको सुनिश्चितता अपरिहार्य रहेको छ । विश्वव्यापी रूपमा सरसफाइका मुद्दामा क्रियाशील हुन विश्व संस्थाले आह्वान गर्दै आएको छ ।










