किन मनाइन्छ तिहार ?

तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन्।

यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यस पर्वलाई नेपाल लगायत बिश्वका थुप्रै देशमा धूमधामसाथ मनाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यही दिन भगवान् धनवन्तरीको जन्म भएको हुनाले यसलाई धनवन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु-गोवर्धन र भाइ पुजा गरिन्छ ।

पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन्।

यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ । तिहार भनेको प्रकृतिपूजक पर्व पनि हो । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पुजा गर्नु भनेको प्रेम, सद्भाव र मैत्रीको प्रतीकसमेत हो ।

काग तिहार 

तिहारको पहिलो दिन कागको पूजा हुन्छ । यमराजको दूत कागलाई सन्देशवाहक पनि भनिन्छ । यो दिन कागको पूजा गर्दा फूल–अक्षताको आवश्यकता पर्छ । फूल–अक्षता आकाशमा छर्ने वा छतमा राख्ने गरिन्छ । त्यसपछि कागका लागि मिठार्इं तथा विभिन्न परिकार दुना वा टपरीमा राखिदिने चलन छ ।

कुकुर तिहार 

यमपञ्चकको दोस्रो दिन पर्ने कुकुर तिहारको पूजाका लागि फूल, अक्षता, माला तथा मिष्ठान्न भोजनको आवश्यकता पर्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन नरकका राजा यमराजका दूत प्राणी कुकुरको पूजा हुन्छ । यस दिन घरमा पालेका कुकुर तथा कुकुर नपाल्नेहरूले बाहिरका कुकुरको पूजा गरी टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा ख्वाउने चलन छ ।

गाइ तिहार, लक्ष्मीपूजा

तिहारको पाँच दिनमध्ये तेस्रो दिन कार्तिक कृष्ण अमावश्या अर्थात् औंसीको दिन हो । यो दिनलाई गाई तिहार पनि भनिन्छ । यो दिनको राति धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । यो दिन लक्ष्मीको पूजा गर्न सयपत्री, मखमली फूल, अक्षता, अबिर, केशरी, जौ तिल, दही, पञ्चामृत, वस्त्र, शृंगारका सामग्री, नरिवल, लावा, मौसम वा अमिलो, जुनार, कपूर, सिन्के धूप, गाग्री, पैसा ढुकुटी पूजा गर्न तथा आँगन लिप्न रातो माटोको आवश्यकता पर्छ । सेलरोटी पनि लक्ष्मीलाई प्रसादका रूपमा चढाइन्छ ।

घरका महिलाले आँगनलाई सफा–सुग्घर पारी रातो माटोले लिपपोत गरी लक्ष्मीको स्वागतार्थ ढोकामा सयपत्री तथा मखमली फूलका माला एवं झिलिमिली कागजले सजाउँछन् । त्यसपछि ढुकुटी, कुचो, नाङ्लो, तामाका पात्र आदिको पूजा गरिन्छ । यो दिन आफ्ना गहना पूजा गर्ने चलन छ ।

गोरु तिहार 

तिहारको चौथो दिन वा कार्तिक शुक्ल प्रतिपदाको दिनलाई गोरु तिहार भनिन्छ । यस दिन गोरुको पूजा गरी मीठा खानेकुरा तथा पिठो खान दिने चलन छ । पूजा गर्न फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदिको आवश्यकता पर्छ । बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिन्छ ।

भाइ तिहार 

यमपञ्चकको पाँचांै दिन भाइ तिहार पर्छ । यो दिन दिदीबहिनीले दाजुभाइको पूजा गरेर निधारमा सप्तरंगी टीका तथा माला लगाइदिने चलन छ । भाइटीकाका दिन सप्तरंगी रंग, पूजा सामग्री, तेल, दूबो, ओखर, सयपत्री, गोदावरी एवं मखमलीका माला, शृंगारका सामान (ऐना, गाजल), मिष्ठान्न परिकार, उपहार, दियो, कलश आदि सामग्रीको आवश्यकता पर्छ । दाजुभाइलाई तिहारमा काजु, पेस्ता, काजी बदाम, सुपारी, ल्वाङ, अन्जिर, दाख, फलफूल आदि दिने चलन छ भने सेलरोटी, अनरसा, विभिन्न किसिमका मिठाईं पनि प्रदान गरिन्छ । सोही दिन यमराजकी दिदी यमुनाले आफ्ना भाइ यमराजको पूजा गरेको विश्वास गरिन्छ ।

यो पर्व दाजुभाइ तथा दिदीबहिनीबीच भेटघाट हुने एवं सम्बन्ध प्रगाढ बनाउने शुभ अवसर पनि हो । दिदीबहिनीद्वारा कहिल्यै नसुक्ने तेल तथा दूबोले छेकी नओइलाउने मखमली एवं सयपत्री फूलको माला लगाइदिने चलन छ । शत्रुले दु:ख दिन नसकून् भनी ढोकामा ओखर फोरी सप्तरंगी टीका लगाइदिएर मीठा–मीठा परिकार ख्वाउने चलन छ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गर्छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img