मंसिर ४ गते बुर्तिबाङ
बागलुङ जिल्लाको बुर्तिबाङमा शनिबार देखि सुरु भएको ३ दिने आँखाको चेकजाँच उपचार तथा मोतिविन्दुको शल्यक्रिया अप्रेसन शिविरमा ७४ जनाको ७५ आँखाको मोतिविन्दुको अप्रेसन संगै एक हजार एक सय नागरिकले सेवा पाएका छन ।

जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र वडिगाड गाउँपालिका अन्तर्रगतका नागरिकलाई लक्षित गर्दे सञ्चालन गरिएको शिविरबाट एक हजार एक सय जना नागरिकले तिन दिन सम्म आँखाको चेकजाँच तथा उपचार गराएका छन ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना र ढोरपाटन नगरपालिकाको साझेदारीमा सञ्चालित निः शुल्क शिविर सञ्चालन गरिएको हो । दुर्गम गाउँका नागरिकलाई लक्षित गर्दे सञ्चालन गरिएको शिविरबाट धेरै जनाले सेवा प्राप्त गरेको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।

लामो समय देखि आर्थिक अभाव लगायतका समस्याका कारण आँखाको समस्या पालेर बसेका नागरिकले ठुलो राहत महसुस गरेको पाण्डेले बताउनु भयो । तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सञ्चालन गरिएको शिविरबाट कुल १०८ जना नागरिकको मोतिबिन्दुको अप्रेसन संगै करिब दुई हजार नागरिक लाभान्वित भएको धवलागिरी आँखा अस्पतालका आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताउनु भयो ।
शिविरमा नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको हो । ताकम फाउन्डेसन नेदरल्याण्ड्सको विशेष सहयोग त्यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उप–शाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ, बुर्तिबाङ राईजिङ यूवा क्लब लगाएत विभिन्न सामाजिक संस्थाको सहयोग रहेको हो ।
मंगलबार बिहान क्लबले औपचारिक कार्यक्रममा मार्फत शिविरको समापन गरेको हो । क्लब अध्यक्ष छविलाल पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्यालको प्रमुख आतिथ्यता, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेत, स्वास्थ्य कर्मी , ताकम फाउन्डेसन नेदरल्याण्ड्सको टिम लगायतको उपस्थिति रहेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि छन्त्यालले लायन्स क्लबको सक्रियतामा भएको शिविरबाट दुर्गम क्षेत्रका सयौँ नागरिकले सेवा प्राप्त गरेको बताउँदै आगामी दिनमा नागरिकको सेवा मुखी कार्यक्रममा थप सक्रिय भएर अगाडी बढ्न शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकाल, लायन्स क्लब अफ ढोरपाटनका पूर्व अध्यक्ष राम प्रसाद आर्चाय, लगाएतको मन्तव्य रहेको थियो ।
कार्यक्रममा सहयोग गर्नेलाई संस्थाको तर्फदेखि मायाको चिनो र प्रशंसा पत्र द्धारा सम्मान गरिएको हो । कार्यक्रम लायन्स हेमेन्द्र घर्तिले सञ्चालन गर्नुभएको थियो ।










