कात्तिक २९ बाग्लुङ्ग
जिल्लाको निसिखोला गाउँ पालिका र कर्मफ्लाइट्स फाउण्डेशनको संयुक्त आयोजना तथा नेदरल्याण्ड स्थित केपिजेड विश्व बिद्यालय र थिओला फाउन्डेसनसँगको सहकार्यमा चम्किला आँखाहरु अभिप्रेरित विद्यार्थीलाई सिकाईका रणनीतिहरु भन्ने विषयमा केन्द्रित रहेर पालिका स्तरिय शिक्षक प्रशिक्षण शृङ्खलाको तेस्रो मोड्युल कार्यक्रम विहिबार सम्पन्न भएको छ ।


गाउँपालिकाको हलमा कात्तिक २८ र २९ गतेसम्म सञ्चालन भएको तालिमले शिक्षकहरुलाई आफ्ना विद्यार्थीको सिकाइ अभिरुचि र क्षमता पहिचान गरि उनीहरुको आँखामा देखिने जिज्ञासा र खुसीको चम्किलोपनको पहिचान गर्ने र विद्यार्थीको विकासका लागि सहयोगी वातावरण सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।


गाउँपालिका अन्र्तगतका ४५ वटै बिद्यालयका शिक्षकको सहभागिता रहेको तालिममा सहभागि शिक्षकहरुले आफुहरुले सिकेका ज्ञान र सिकाई उपलब्धीलाई व्यवहारीक बनाएर शिक्षण सिकाईमा अगाडी बद्ने प्रतिबद्धता जनाएका छन । अझैपनी सामुदायिक विद्यालयमा पुरानै तरिकाबाट गरिने शिक्षण विधीका कारण सिकाई उपलब्धी न्युन रहेको बताउँदै विद्यार्थीलाई सिकाई र पढाई प्रति केन्द्रित गराएर पठन संस्कृर्तिको विकास गरिनेमा शिक्षकहरुले चासो देखाएका हुन ।
समापन सत्रको कार्यक्रममा निसीखोला गाउँपालिका सामाजिक विकास संयोजक चन्द्र सिंह रामजालीको अध्यक्षता रहेको कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख घर्तिले बोल्दै निसीखोला गाउँपालिकाको शिक्षा क्षेत्रको विकासमा कर्मफलाईट्स फाउन्सेशनले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउँदै सहयोगी दाताहरुलाई धन्यबाद दिनुभयो ।
गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा बढि लगानी गरिरहेको तर शिक्षामा परिणाम कम देखिएका कारण विद्यालयको गुणस्तर, सिकाई उपलब्धी बृद्धि गर्नका निम्ती सबैको साथ र भुमिका अपरिहार्य रहेको बताउनु भयो ।
नेदरल्याण्ड्सको केपीजेड युनिभर्सिटीका प्रमुख सहजकर्ता प्राध्यापक क्रिस्टिना भोल्स्टरम्यान ले मुख्य मन्तब्य दिदै विश्वव्यापी चुनौती, युद्ध र निराशाका बीच पनि बालबालिकाका लागि आशावादी भविष्य निर्माण गर्न शिक्षकहरूले खेलेको व्यापक भूमिका र उनीहरूले शैक्षिक सिकाइलाई मार्गदर्शन मात्र नगरेर दया, करुणा र लचिलोपनको नमूना पनि देखिरहेको र यहाँ सबै शिक्षण पेशा गर्ने साझा उदेश्य र शिक्षाप्रतिको प्रेम, बालबालिका प्रतिको प्रेम र सिकाइप्रतिको प्रेमले हामी सबैलाई जोडेको कुरा बताउनुभयो।
उहाले शिक्षकको हैसियतमा शिक्षक हरुले शिक्षण भन्दा बाहिरका जिम्मेवारीहरू पनि बहन गरिरहेको र उनीहरुको भविष्यलाई पनि आकार दिइरहेका छौं जबकि हाम्रा बालबालिकाहरुले संसारमा युद्ध लगायत थुप्रै चुनौतीहरूको सामना गरिरहेको बर्तमान संसारमा हामीले आशाको दियो जलाउन सक्ने र प्रशिक्षणको दौडानमा ‘चम्कने आँखाहरू’ , तिनीहरूको अर्थ र तिनीहरूलाई कसरी हुर्काउने र शिक्षकको भूमिकामा हामी कसरी आफ्ना विद्यार्थीहरूको आँखा उज्यालो हुने अवस्था सिर्जना गर्न सक्छौं र हामी आफ्नो शिक्षणमा आनन्दको क्षण महसुस गर्न कसरी आफ्नो उत्प्रेरणालाई जिबन्त राख्न सक्छौं भनेर छलफल गरिने बताउनु भयो।
कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति, निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्मा निसीखोला गापा युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो । तालिम संयोजक प्रेम बहादुर कुँवरले कार्यक्रमको सञ्चालन गुर्नभएको थियो ।










