बैशाख १२ गते बुर्तिबाङ बागलुङको ढोरपाटन नगरपालिकामा केन्द्रिय कार्यालय रहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले १८ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
सहकारीले विभिन्न १८ वटा विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन सँगै ज्येष्ठ सदस्यलाई मायाको चिनो सहित सम्मान तथा २०७९ को एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष उत्तम बहादुर महतले बताउनु भयो ।

छरिएर रहेको पुँजीलाई एकीकृत गरी धनी वर्ग र गरीब वर्ग बिचको दूरीलाई नजिक ल्याउने गरी स्थापित सहकारीले सेयर सदस्यलाई विभिन्न उद्यम मार्फत आत्मनिर्भर बनाउने, वचत र ऋणको कारोबार मार्फत अगाडी बढाउने उदेश्य सहित विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीका निम्ति सहकारी शिक्षा कार्यक्रम सुरुवात गरेको हो ।


बुधबार जिल्लाको निसीखोला गाउँपालिका स्थित प्रभा माध्यमिक विद्यालय र ढोरपाटन नगरपालिका ५ मा रहेको भुजि माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको र अन्य विद्यालयमा क्रमिक रुपमा कार्यक्रम सञ्चालन गरिने संस्थाका प्रबन्धक अर्जुन पोखरेलले बताउनु भयो ।
सहकारीले वार्षिक उत्सवको अवसरमा ८० बर्ष उमेर पार गरेका ज्येष्ठ सदस्यलाई सम्मानित सँगै एसईईमा उत्कृष्ट अङ्क ल्याउने बचत कर्ता उज्जल महत र सिजन कँडेललाई सम्मानित गरिएको पोखरेलको भनाई छ ।










