माघ २८ बुर्तिबाङ
बागलुङको पश्चिम क्षेत्रमा रहेका विभिन्न बैँकहरूको छाता संगठन बैकर्स एशोसिएसन अफ बुर्तिबाङको अध्यक्षमा साइन रेसुङ्गा डेभलपमेन्ट बैँक शाखा प्रवन्धक प्रेमनाथ पौडेल चयन हुनुभएको छ । शनिबार भएको समितिको दोश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा पौडेल अध्यक्ष रहेको १५ सदस्य समितिको गठन गरिएको हो ।
संस्थापक सचिव समेत रहेका पौडेलले आफ्नो कार्यकालमा वित्तिय क्षेत्रमा नागरिकलाई सुसूचित गराउने, वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने , डिजिटल र वित्तिय सुरक्षाको अवस्थाको विषयमा नागरिकलाई सचेतना जगाउने उद्देश्य सहित अगाडि बढ्ने बताउनु भयो ।
२०७७ सालमा ढोरपाटन नगरपालिकामा दर्ता भई स्थापना भएको उक्त संस्थाले आगामी दिनमा समेत वित्तिय क्षेत्रका सन्दर्भमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष प्रेमनाथ पौडेलले बताउनु भयो । बुर्तिबाङमा रहेका विभिन्न ७ वटा बैँक तथा निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा रहेका प्रभु बैँकका शाखाका प्रतिनिधि समेत समितिमा रहने गरि कार्यसमितिको गठन गरिएको जनाईएको छ ।

समितिको उपाध्यक्षमा ग्लोबल आइएमी बैँकका शाखा प्रबन्धक ईश्वर राज भण्डारी, सचिव गरिमा विकास बैँकका प्रमुख जित बहादुर गर्बुजा, कोषाध्यक्ष प्रभु बैँक बुर्तिबाङका प्रमुख ज्ञान बहादुर क्षेत्री, सह सचिव लक्ष्मी सनराइज बैँकका प्रमुख राम बहादुर खत्री लगायत अन्य पदाधिकारी चयन भएका छन ।
त्यस्तै सल्लाहकार समिति समेत गठन गरिएको छ जसमा सुनिल चौधरी, ठाकुर गौतम र पिताम्बर पाण्डे चयन हुनुभएको हो । शनिबार बनभोज कार्यक्रमको आयोजना गर्दे विभिन्न बैँकमा नवआगन्तुक ८ जना कर्मचारीलाई स्वागत समेत गरिएको थियो ।

















