छविलाल पाण्डे,बागलुङ
देश निर्वाचनमय बनेको छ, तर बागलुङको ढोरपाटनमा भने यतिबेला दादुरा रुवेला को प्रकोप बढेको छ । बागलुङको ढोरपाटनमा बालबालिका सहित ४८ जनामा दादुरा रुवेला को सङ्क्रमण पुष्टि भएको छ । तर उपचारमा ढिलाई हुदाँ जोखिम बढ्दै गएको छ ।

बागलुङको ढोरपाटनमा बालबालिका सहित ४८ जनामा दादुरा रुवेला को सङ्क्रमण पुष्टि भएको छ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ नम्बर वडाका ४८ जना बालबालीका र अन्य व्यक्तिमा दादुरा फैलिएको हो ।
तिन हप्ता पहिले एक दुई जनामा देखिएको सङ्क्रमण अहिले भने ३ वटा वडामा व्यापक रुपमा फैलिएको बोबाङ प्राथमिक स्वास्थ्य चौकीका प्रमुख दीपक थापाको भनाई छ । माघको अन्तिम सातादेखि बालबालिकामा ज्वरो, खोकी र शरीरमा विविरा देखिन थालेका थिए। स्वास्थ्य संस्थामा जाँच गर्दा दादुराको आशङ्का लागेपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमूनामा दादुरा पुष्टि भएको हो ।

धौलागिरी, प्रदेश र बुर्तिबाङ अस्पतालका चिकित्सक टोली गाउँमा पुगेर उपचार सुरु गरेका प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताउनुभयो । नेपालले २०२६ भित्र दादुरा रुबेलालाई जनस्वास्थ्य समस्या नरहेको अवस्थामा पुर्याउने लक्ष्य राखेको छ, तर बागलुङमा भने ठुलो मात्रामा सङ्क्रमण देखिएको छ। प्रारम्भमा केही मात्रामा देखिएको संक्रमण लाई सामान्य लिइएको र बिरामी सरकारी अस्पतालमा नपुगेका कारण उपचारमा ढिलाई भएको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।
ढोरपाटन नगरपालिकाले हालै रोग फैलिएको तीन वडामा गाउँमै औषधि उपचारको व्यवस्था गरेको कार्यवाहक प्रमुख धनबहादुर कायत ले बताउनुभयो । दादुरा सङ्क्रमण स्थानीय स्तरबाट फैलिएको हो वा बाहिरबाट आएको भन्ने अझै पुष्टि भएको छैन।
उपचारलाई समयमै थप प्रभावकारी बनाउन गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा आग्रह गर्नुभएको छ ।
बागलुङमा यसअघि करिब २० वर्षअघि बालबालिकामा दादुरा देखा परेको थियो। पछिल्लो समय गाउँका अधिकांश बालबालिकामा सङ्क्रमण देखिएपछि स्थानीय नागरिक चिन्तित देखिएका छन् ।










