बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते नाचिने पतली नाच सहितका विभिन्न कार्यक्रम सुरु भएको छ ।
जहाँबाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । यसबर्ष पनी आयोजकले विभिन्न कार्यक्रमका साथ मेला सुरु गरेको छ ।
बालक देखि युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ । पछिल्लो समय सडकको पहुँच, प्रचार प्रसारका कारण उक्त नाच हेर्ने बागलुङ लगाएत छिमेकी जिल्ला रुकुम, प्युठानबाट समेत दर्शक आउने गरेका छन ।
भल्कोटमा मात्र नाच्ने पुतली नाच उत्कृष्ट मौलिक संस्कृतिका रूपमा लिने गरिन्छ । पुतली नाचसँगै आजकै दिन कापै नाच, तरबार नाच र पट्टा नाच नाच्ने गरिन्छ । युवापुस्ता विदेश पलायन र बजार झर्न थालेपछि लोप हुने अवस्थामा पुगेको पुतली नाच गाउँमा भएका युवाले संरक्षणमा जोड दिएका हुन् । मगर समुदायको पहिचानसँग जोडिएको नाचलाई संरक्षण गर्न स्थानीय सरकारसहित विभिन्न सङ्घसंस्था पनि लागेका छन् । पुर्खाले जर्गेना गर्दे आएको संस्कृर्तिलाई पछिल्लो पिँडिले संरक्षण गरेको र निसीखोला गाउँपालिकाले समेत यसको जर्गेना गर्नका निम्ती चासो दिइएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको भनाई छ ।


नाच संरक्षणका लागि तिलाचन युवा क्लबले अग्रसरता लिएको छ ।
पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् ।
क्लबले पुराना पुस्ताबाट युवालाई संस्कृति हस्तान्तरण गराउने कार्य गर्दै आएको छ । हरेक वर्ष गाउँमा नयाँ नाच्ने युवा बढिरहेका छन् । सयौँ वर्ष पुरानो मानिने यो नाच कहिलेदेखि सुरू भएको यकीन नभए पनि बाइसे चौबीसे राज्य हुँदादेखि नाच्दै आइएको बूढापाकाको भनाइ छ । बाउबाजेले नाच्दै आएको नाचलाई अहिलेसम्म संरक्षण गर्दै आएको स्थानीय अनुप बुढाले बताउनु भयो ।
तत्कालीन बाइसे चौबीसे राज्य सञ्चालनका समयमा राजारानीको मृत्यु भएपछि स्थानीयले उनीहरूको स्मृतिमा पुतली नान नाच्न थालेको स्थानीयको भनाई छ ।

बुढामगरका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ ।
राजा, रानी र धाइमा गरी तीनवटा मूर्तिजस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्धहरू पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् । माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पट्काउने, पुलतीलाई डोलामा डुलाउने र नाच्ने गरिन्छ । साँझ परेपछि खोलामा सेलाइन्छ ।
माघ २ गते साँझ पुतली बनाउन सुरू गरेदेखि ३ गते खोलामा लगेर नबगाउँदासम्म स्थानीय युवाहरू डम्फु बजाउने, अश्लिल बोल्ने र कापै खेल्ने गर्छन् । माघ ३ गते बिहानदेखि साँझसम्म भने पुतलीजस्तै बनेका मान्छे नाच्छन् । उनीहरूले शरीरमा विभिन्न थरिका कपडा पहिरिएका हुन्छन् । पुतलीजस्तै बनेका उनीहरू दिनभर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् ।
पुतली नाच संगै भालु नाच, पट्टा नाच समेत सोही दिन नाच्ने प्रचलन रहेको हो । स्थानीय परम्परा अनुसार एक हप्ता सम्म उक्त स्थानमा मेला लाग्ने गर्दछ ।
क्लबले यसबर्ष महिला पुरुष भलिवल, भेट्रान्स भविवल, दोहोरी गित, आइडल डान्स, आमा समुह नृत्य लगाएत विभिन्न चर्चित कलाकारको सांगितीक प्रस्तुती रहने भएको हो ।
उद्धघाटन सत्रको कार्यक्रम क्लबका अध्यक्ष वेल बहादुर बुढाको अध्यक्षता, निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता वडा अध्यक्ष , विभिन्न संघसंस्थाका प्रतिनिधी, सहयोगी दाता लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम फुल मगरको संचालनमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।










