शिशिर विश्वकर्मा ,
२०८२ मंसिर १३ बुर्तिबाङ,
दुबईमा अलपत्र अवस्थामा भेटिएका निसीखोला गाउँपालिका–१ निवासी कुलमान कार्कीलाई नेपाल फर्काई शनिबार परिवारको जिम्मा लगाइएको छ ।

विदेशमा कष्टकर जीवन बिताउन बाध्य भएका कार्कीको उद्धारप्रति स्थानीयवासी तथा सामाजिक संघ–संस्थाले राहत र प्रसन्नता व्यक्त गरेका छन् । उद्धारपछि कार्कीलाई लिन लायन्स क्लब अफ निसिखोलाका अध्यक्ष अशोक कार्कीले ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ बसपार्क पुगेका थिए ।
आयोजित संक्षिप्त औपचारिक कार्यक्रममा निसीखोला गाउँपालिका–१ का वडा अध्यक्ष चन्द्रसिँह रामजालीको उपस्थितिमा कार्कीलाई उनकी आमा बोमकुमारी कार्की तथा दिदीको संरक्षणमा हस्तान्तरण गरिएको हो ।

रोजगारीका सिलसिलामा विदेशी भूमिमा थुप्रै कठिनाइ, मानसिक तनाव र जोखिमपूर्ण अवस्थाबाट गुज्रिनुपरेको कार्कीको पीडाले धेरैलाई मर्माहत बनाएको थियो ।
सोही संवेदनशील परिस्थिति महसुस गर्दै लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्की, क्लबका सदस्यहरूले तत्काल आवश्यक सहयोगस्वरूप आर्थिक सहायता समेत उपलब्ध गराएका थिए । क्लबले आफ्नो “जहाँ दुख्छ, त्यहीँ पुग्छ” भन्ने सामाजिक सेवा भावनालाई पुनःप्रस्तुत गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ ।
उद्धार प्रक्रियामा नेपाल तथा विदेशबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग पु¥याउने व्यक्तिहरू, संघ–संस्था तथा शुभेच्छुकप्रति लायन्स क्लब अफ निसिखोलाले हार्दिक धन्यवाद प्रकट गरेको छ ।
क्लबका प्रतिनिधिहरूका अनुसार आगामी दिनमा पनि समुदायका लागि यस्ता मानवीय तथा सामाजिक सेवामा सक्रियता अझ बढाइने जनाएको छ ।










