भूमी सम्बन्धी समस्यालाई एकैपटक समाधान गर्न पहल गरिने भएको छ । हालै गठन भएको भूमी समस्या समाधान आयोग बागलुङ जिल्ला समितिले सबै पालिकामा रहेका समस्या समाधान गर्ने प्रतिवद्दता जनाएको हो ।
पटकपटक भूमी व्यवस्था समाधान आयोग गठन हुन नपर्ने गरी काम गर्न यो आयोगको समितिले काम गरेको जिल्ला विज्ञ सदस्य उमेश गौतमले बताए । त्यसका लागि भूमीहिन, भूमीहिन दलीत, सुकुम्बासी र अव्यवस्थित बसोबासीको अन्तिम तथ्यांक संकलनको काम भैरहेको गौतमले जानकारी दिए । उनका अनुसार ताराखोला गाउँपालिकामा सबैको पहिचान गरेर ३५ दिने सूचनामार्फत निस्सा बितरणको तयारी भैसकेको हो । त्यस्तै गलकोट नगरभित्र पनि तयारीको काम भएको हो । बरेङमा तथ्यांकको अद्यावधिक शुरु भएको र बागलुङ नगरपालिकाको पुरानो तथ्यांक खोजेर त्यसको भेरिफिकेसनको काम थालिएको उनले जानकारी दिए ।
नगर क्षेत्रमा अव्यवस्थित बसोबासी, भूमीहिन र सुकुम्बासीहरु भेटिने भएकोले समितिले नगरपालिकाले मेहेनत गरेर तथ्यांक संकलनमा साथ दिएमा निस्सा बितरणमा पनि सहज हुने समितिका जिल्ला अध्यक्ष भीमप्रसाद शेरचनले बताए । उनले कामलाई प्रभावकारी बनाउने, पीडितले जग्गा पाउने र नक्कली सेवाग्राही कोही भएमा उनीहरुलाई तथ्यांकबाट हटाउने लगायतको काम गर्ने बताए ।
समितिले मंगलबार बागलुङ नगरपालिका भित्रको तथ्यांक संकलनका लागि जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया गरेको छ । अभिमूखिकरण कार्यक्रममा जनप्रतिनिधिसँगै सबै दलका प्रतिनिधि, वडा सचिव समेत सहभागि थिए । उनीहरुले आफ्नो क्षेत्रमा देखिएका समस्याबारे प्रष्ट रुपमा धारणा राखेका थिए । साथै समितिले ठोस निस्कर्ष निकालेर वास्तविक समस्या भएका नागरिकले जग्गा पाउने व्यवस्थापन गरिनुपर्ने सुझाव दिए ।
कतिपय समस्या वन क्षेत्रमा बसेकोले अव्यवस्थित बनेका छन् । कतिपय बस्तीहरु त्त्काल हटाउन सकिने खालका छन् भने कतिपय वर्षौदेखि बसेकोले हटाउन नसकिने पनि छन् । ती सबैको वर्गिकरण गरेर वास्तविक समस्याको निष्कर्ष निकाल्न कार्यक्रम गरिएको शेरचनले जानकारी दिए ।
समितिले दशवटै पालिकामा पुगेर पुराना तथ्यांकको परिमार्जन गर्दै आवस्यक सुझाव लिएर छिटै निस्सा वितरणको काम थाल्ने बताएको छ । बागलुङ नगरपालिकाका सबै वडा अध्यक्षहरुले आफ्नो क्षेत्रको वास्तविक पीडितहरुको लागत संकलन गर्ने, समितिले उनीहरुको पहिचान गर्ने र सरोकार राख्ने अन्य सरकारी कार्यालयले समन्वय गराउँदा समयमा निस्सा बितरण गर्न सकिने बताइएको छ ।
कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले वास्तविक पीडित कोही नछुट्ने र बिबादित भए छानविन गर्ने वातावरण बनाउन आयोगलाई आग्रह गरे । साथै कोही पनि सुकुम्बासी नभएको नगर बनाउन पहल गरिने धारणा राखे । नापी अधिकृत मौसम सुनामले हालसम्मको कार्यप्रगति प्रस्तुत गरेका थिए ।
नगरप्रमुख श्रेष्ठको अध्यक्षता, प्रशासकीय अधिकृत भीमसेन पन्तको संचालन र उपप्रमुख राजु खड्काको स्वागतमा भएको कार्यक्रममा समितिका पदाधिकारी, पार्टी प्रतिनिधि र सरकारी कार्यालयका प्रमुख तथा वडा अध्यक्षहरुले आफ्नो वडा र कार्यक्षेत्रको समस्याबारे जानकारी गराएका थिए । समितिले सबैको समन्वयमा यकिन तथ्यांकसहित निस्सा वितरणको अन्तिम काम गरिरहेको जानकारी दिएको छ ।
साभार ढोरपाटन










