तमानखोला गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी बनाउने प्रतिबद्धता 

पौष १८ बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका बनाउन बुधबार तमानमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

 गाउँपालिकामा सबैको सहकार्यमा अस्पतालमा पुगेर सुत्केरी हुने व्यवस्थालाई शत प्रतिशत बनाउने उद्देश्य सहित पूर्ण संस्थागत सुत्केरी अभियानलाई सार्थकता दिन स्थानीय जनप्रतिनिधि, स्वास्थ्य कर्मी सहित त्यहाँका जिम्मेवार निकायले प्रतिबद्धता जनाएका छन । 

अझैपनि घरमा सुत्केरी हुने समस्याका कारण सुत्केरी आमा तथा बच्चाको मृत्युदर सँगै अन्य जोखिम रहन सक्ने अवस्थालाई मध्यनजर राख्दै पूर्ण संस्थागत सुत्केरी अभियानलाई गाउँपालिकाले प्राथमिकताका साथ अगाडि बढाएको हो । गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंम सेवीका, टोल विकास समिति पदाधिकारी लगायतको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै तमानखोला गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी कार्यक्रम घोषणा गर्ने गरि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अभियानलाई सबैले साथ दिनुपर्ने बताउनु भयो । 

“स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उल्लेखनीय सुधार गर्दे आइरहेको बताउँदै अझैपनि विज्ञहरूको सुझाव र सल्लाह बमोजिम विभिन्न कार्यक्रम समावेश गरेर नागरिकको स्वास्थ्यका क्षेत्रमा पालिकाले काम गर्ने बताउनु भयो । ”

पालिकाले कार्यविधी बनाएर अगाडी बढ्ने तयारी रहेका कारण कार्यान्यनमा सबैको अपनत्व हुने गरि अगाडी बढिने बताउनु भयो । तमानखोला गाउँपालिकाको समृद्धिको आधारमा रुपमा स्वास्थ्य क्षेत्रलाई लिइएका कारण कार्यक्रमले सार्थकता पाउने बताउनु भयो ।

कार्यक्रमका अवसरमा वडा गत रुपमा स्वास्थ्य संस्थाको अवस्था, भौतिक अवस्था ,समस्या र चुनौती र गरिएका पहल साथै स्वास्थ्य संस्थामा सुत्केरी हुनेको अवस्था, मातृ तथा बाल मृत्युको अवस्था लगायतका विषयमा सम्वन्धीत स्वास्थ्य संस्थाका विषयमा स्वास्थ्य संयोजक द्धारा प्रतिवेदन पेश गरिएको थियो । गाउँपालिकाको तथ्यांक अनुसार घरमा हुने सुत्केरीको संस्था क्रमश कम हुँदै गएको पाइएको हो । 

जसअनुसार आर्थिक बर्ष २०७४÷०७५ मा ४४ जना, २०७५÷०७६ मा २६ जना, २०७६÷०७७ मा ८ जना, २०७७÷०७८ मा ६ जना, र आर्थिक बर्ष २०७९÷०८० मा ३ जना रहेको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै मातृ मृत्युदर विगत ६ वर्षदेखि नरहेको पाइएको हो । नवजात शिशुको मृत्युदर आर्थिक बर्ष २०७७÷०७८ मा ३ जना, २०७८÷०७९ मा १ जना २०७९÷०८० मा दुई जना र २०८०÷०८१ मा १ जना रहेको पाइएको छ ।

मृत्यु हुनेमा अधिकांश गर्भमै बच्चाको मृत्यु भएको तथ्यांक प्रस्तुत गर्दे गाउँपालिका स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले त्यसलाई पनी रोक्नका निम्ति निरन्तर प्रयास भइरहेको  बताउनु भयो ।

 कार्यक्रमका अवसरमा गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य, वडा अध्यक्षको तर्फदेखि वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपाली, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख , विवाईसी बागलुङका प्रतिनिधि गणेश बरुवाल लगायतले आफ्नो धारणा राख्दै सबैले आ आफ्नो क्षेत्रबाट सुधार गर्नुपर्ने विषयमा सुधार गर्दे सबैको सक्रियतामा पूर्ण संस्थागत सुत्केरी अभियानमा साथ दिनुपर्ने बताउनु भयो । 

कार्यक्रम गाउँपालिका अध्यक्ष जोकलाई बुढाको अध्यक्षता वडा नं. ३ का वडा अध्यक्ष तथा तमान स्वास्थ्य संस्था व्यवस्थापन समिति अध्यक्ष झक बहादुर बुढाको स्वागत , गाउँपालिका स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालद्वारा कार्यक्रमको उदेश्य,समग्र स्वास्थ्य क्षेत्रको अवस्था सहितको प्रतिवेदन सहित कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित