आगामी निर्वाचन बहिस्कार गर्न ने कपा मशालको अपील ।

कार्तिक २३ गते, बुर्तिबाङ ।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन बहिस्कार गर्न आम मतदाताहरुलाई ने क पा मशाल ले अपील गरेको छ ।

मोहन विक्रम सिंहको नेतृत्वबाट विद्रोह गरेर विशेष महाधिवेशन सम्पन्न गरी पार्टी पुनर्गठन गरेको ने क पा मशालले संसदीय निर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने घोषणा गरेको हो ।

“राष्ट्रघात, जनघात र भ्रष्टाचारको अन्त्य गरौं, मंसिर ४ गते हुने संसदीय निर्वाचन बहिस्कार गरौं” भन्ने मूल नाराका साथ ने क पा मशाल ले चुनाव बहिस्कारको घोषणा पत्र जारी गरी चुनाब बहिस्कारका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । जस अन्तरगत कार्तिक २२ गतेसम्म पर्चा वितरण र घरदैलो कार्यक्रम, कार्तिक २३ गतेदेखि २७ गतेसम्म चुनाब बहिस्कारका सभा तथा कोणसभाहरु सम्पन्न गर्ने तथा जिल्ला र स्थानीय तहमा समेत बहिस्कारका विभिन्न कार्यक्रमहरु गर्ने जनाइएको छ ।

सोही कार्यक्रम अन्तरगत हिजो मंगलबार बेलुकी बागलुङ जिल्लाभर साङ्केतिक रुपमा पर्चाहरु वितरण गरिएको छ । ने क पा  मशालले पश्चिम बागलुङमा पनि चुनाब बहिस्कारको पर्चा वितरण गरेको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार, सहिखोला, गादीखोला, बुढाथोक, हुन्द्रफेंदी बजार लगायतका ठाउँहरुमा चुनाब बहिस्कारको पर्चा वितरण गरेको छ । त्यसैगरी निसीखोलाको झिवाखोला बजार, कानाबगर, निसी, ढुवाखोर, जुग्जाखोला, कान्छीबजार, देविस्थान लगायतका ठाउँहरुमा पर्चा वितरण गरेको छ भने तमानखोलाको बोंगादोभान बजार र अन्य स्थानहरुमा पनि चुनाब बहिस्कारको पर्चा वितरण गरिएको छ । त्यसैगरी बडिगाड गाउँपालिकामा समेत चुनाब बहिस्कारको पर्चा वितरण गरिएको जानाकारी प्राप्त भएको छ । पार्टीको घोषित केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका सबै पालिकाहरुमा चुनाब बहिस्कारको पर्चा वितरण भएको ने क पा मशाल बागलुङले जनाएको छ ।

ने क पा मशाल जिल्ला समिति बागलुङले गत कार्तिक २० गते बागलुङमा पत्रकार सम्मेलन गरी चुनाब बहिस्कारका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । संसदीय व्यवस्था भ्रष्ट र बदनाम हुँदै गएकाले यसबाट नयाँ जनवादी व्यवस्था स्थापना हुन नसक्ने र त्यसको विकल्प जनवादी क्रान्ती नै भएकाले पार्टीले आगामी संसदीय निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको ने क पा मशालका जिल्ला प्रवक्ता रेशम गिरीले बताउनु भएको छ । उहाँले जनतालाई आतङ्कित नपारी शान्तिपूर्ण रुपमा आगामी निर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने पार्टीको नीति रहेको समेत बताउनु भएको छ ।

त्यसैगरी कतिपय सामाजिक संजाल र अनलाइनहरुमा बागलुङ पश्चिम क्षेत्रमा ने क पा मशालले अन्य पार्टीलाई चुनाबमा सहयोग गर्ने भन्ने भ्रामक समाचार बाहिर आएकोमा पार्टीले खण्डन गर्दै खेद प्रकट गरेको छ ।

ने क पा मशालका प्रवक्ता राम बहादुर बुढाले जारी गर्नुभएको केन्द्रिय समितिको वक्तव्यमा आफ्नो पार्टीको बदनाम गर्ने गरी प्रचार गरिएका भ्रामक समाचारमा सत्यता नभएको र आगामी संसदीय निर्वाचन बहिस्कार गर्न आम मतदाताहरुलाई अपील गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित