काठमाण्डौमा घाम लाग्यो : वर्षाको सम्भावना भने कायमै

मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि  बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज उपत्यका मौसम बदली रही  बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ ।’काठमाडौँ उपत्यकाका र पूर्वका मौसम खुलेजस्तो देखिए पनि बदली नै रहने सम्भावना छ, शनिबार दिउँसोबाट विस्तारै सुधार हुँदै जानेछ, पश्चिममा भारी वर्षा भइरहेको छ,’ उनले भने, ‘गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आइतबारदेखि मौसम विस्तारै खुल्दै जान्छ ।’महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिमका केही, कर्णाली प्रदेशको थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा आज भारी वर्षा हुने जनाएको छ ।

नारायणी नदीले नारायणघाट पुलमा १२ मिटर नाघ्याे, पश्चिम चितवन र नवलपुरमा बाढीको खतरा

नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ बजेर ५५ मिनेटकाे समयमा फेरि खतराको तह नाघेकाे छ । देवघाट मापन केन्द्रमा नारायणीकाे तह ९ दशमलव ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।

यस्तै नारायणी नदीकाे नारायणघाट पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ । यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ । पानीको सतह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिनुभयो । नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ ।

भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । आपत्कालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित