…त्यसपछि सकिन्छ ‘भाइरल’ को आयु

काठमाडाैं : सन् १९४० को दशकमा भाइरसबाट फैलिने बिमारलाई ‘भाइरल’ नाम दिइयो। ७० को दशकपछि कम्प्युटरको प्रयोग व्यापक भयो। धेरै कम्प्युटरमा उस्तै खालको समस्या र कारण देखिन थालेपछि कम्प्युटर बिगार्ने तत्त्वलाई पनि भाइरस भन्न थालियो, भाइरसको सिकार भएको कम्प्युटरको बिमारलाई पनि भाइरल भन्न थालियो।

सन् १९८३ मा पहिलो पटक प्रयोगमा आएको इन्टरनेटका प्रयोगकर्ता सन् २००० पछि ह्वात्तै बढ्न थाले। फेसबुक, युट्युब, ट्विटर जस्ता सामाजिक सञ्जाल बने। पछि इन्स्टाग्राम, टिकटक, स्न्याप च्याट पनि बने। प्रभावकारी सञ्चारमाध्यमको रूपमा आविस्कार भएका इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको छ। अहिले स्कुल पढ्ने बालबालिकादेखि अवकाश जीवन बिताइरहेका वृद्धवृद्धासम्मले सामाजिक सञ्जाल प्रयोग गर्छन्।

सामाजिक सञ्जालमा आउने अधिकांश फोटो, भिडियो, लेख सीमित मानिसहरूसम्म पुग्छ। तर, केही यस्ता ‘कन्टेन्ट’ हुन्छन् जो एक प्रयोगकर्ताबाट सुरु भएर छोटो समयमै लाखौँ, करोडौँसम्म पुग्छ। यो प्रक्रिया र भाइरस फैलिन प्रक्रिया उस्तै प्रकृतिको भएकाले इन्टरनेटमा छोटो समयमै धेरै प्रयोगकर्तासम्म पुग्ने कन्टेन्टलाई पनि ‘भाइरल कन्टेन्ट’ भनिन्छ।

भाइरल भएरै अन्यायमा परेका कतिले न्याय पाएका छन्। ओझेलमा परेका प्रतिभा बाहिर आएका छन्। कतिको रातारात जीवन परिवर्तन भएको छ। कोही भाइरल भएर लाखौँको गालीगलौज पनि पाएका छन्। भाइरल हुन यस्तो बोल्नुपर्छ, यस्तो लेख्नुपर्छ, फोटोमा यस्तो पोज दिनुपर्छ, निश्चित उमेर, लिंग लम्बाई, चौडाइ भन्ने मापदण्ड छैन। कोही राम्रो गीत गाएर भाइरल हुन्छन्, कसैका कविता, कसैको फोटो, कोही बोल्ने शैलीले मात्रै पनि रातारात भाइरल हुन्छन्।

कसैले केही कुरा इन्टरनेटमा खसाल्यो, त्यो कसैलाई मनपर्यो, सेयर गर्यो, अरु १० जनालाई मन पर्यो, पाँच जनाले सेयर गरे, अन्य सय जनासम्म पुग्यो, त्यसपछि हजार हुँदै लाखौँ मानिससम्म पग्यो। फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालले भिडियो अपलोड गर्ने विकल्प बनाएपछि, नयाँ सामाजिक सञ्जाल टिकटक प्रयोगमा आएपछि अधिकांश भाइरल कन्टेन्ट भिडियो हुने गरेका छन्।

याँ कुरा केही नआएपछि लामो समय एउटै अनुहार हेर्दा, एउटै कुरा सुन्दा मान्छेहरू दिक्क हुन्छन्। युट्युबमा भ्युज कम हुन थालेपछि युट्युबरले पनि वास्ता गर्न छोड्छन्। उनीहरूको ठाउँ लिन अर्को कोही आउँछ। अलिकति नसोचेको जीवन बाँचेर भाइरल भएका मान्छे पहिलेकै जीवनमा फर्किनुर्छ।

तर, भाइरल कन्टेन्ट जति छोटो समयमा लाखौँसम्म पुग्छ। अपवाद बाहेक, यसको आयु पनि छोटो हुन्छ। यति धेरै पटक देखिन्छ कि सुरुमा मन पराइरहेका मानिसहरू नै दिक्क हुन्छन्। भाइरल कन्टेन्टलाई ‘बुस्ट’ गर्ने काम गर्छन् युट्युबरहरू। एक जनाबाट छिरेर उसको परिवार र परिवारभित्रका गोप्य कुराहरू बाहिर निस्किन थालेपछि सुरुमा वाहवाही पाएकाहरूलाई छि:छि: र दुर् दुर् पनि गरिन्छ। त्यस्तै केही कन्टेन्टको आयु त्यसपछि आउने अर्को भाइरल कन्टेन्टले घटाउँछ। भने केहीले भाइरल हुँदा पाएको लोकप्रियता बचाइराख्न पनि सक्छन्।

दुई वर्षअघि गुल्मीका ९ वर्षीय सचिन परियार एक जना युट्युबरको फेला परे। उनको हँसिलो मुहार, बोल्ने शैलीलाई धेरैले मन पराए। फेसबुक, टिकटक, युट्युब जताजतै देखिन थाले। उनले भन्ने के छ हजुर? आधा नेपालीको थेगो भयो।

सचिनको पारिवारिक अवस्था सार्वजनिक भयो। उनलाई काठमाडौं ल्याइयो। उनीसँग बुबा पनि आए। विभिन्न ठाउँबाट सहयोग पनि आउन थाल्यो। हरेक दिन सचिनको अन्तरवार्ता आउन थाल्यो। एउटा समय यस्तो थियो, युट्युबको ट्रेण्डिङ लिस्टमा सचिनको भिडियो टुट्दैनथ्यो। सचिनको एउटा भिडियोले कति युट्युब च्यानल ‘मनिटाइज’ भए। कतिले लाख, दुई लाख सब्स्क्राइबर बढाए।

त्यसपछि सचिनको आवाजमा गीत रेकर्ड गराइयो, उनको थेगो ‘के छ हजुर’मै पनि गीत बन्यो। उनलाई म्युजिक भिडियो खेलाइयो। उनीसँग महानायक राजेश हमाल पनि नाचे। सचिनलाई सिरियल पनि खेलाइयो। उनलाई निःशुल्क पढ्ने वातावरण पनि मिलाइयो। बुबा आमाका कुराले बिचमा केही विवाद पनि आयो। केही समय सचिनका बुवा पनि युट्युबको ‘ट्रेण्डिङ लिस्ट’मा बसे। यो सबै केही महिनाको बिचमा भएका घटना थिए।

बिस्तारै सचिनका भिडियोमा भ्युज घट्दै गयो। सचिनलाई पनि फ्रिमा पढाउने भनेको स्कुलमा भर्ना गरियो। त्यसपछि लामो समय उनी युट्युब, टिकटकमा आदिमा देखिएनन्। केही दिन अघि सामाजिक सञ्जालमा सचिनको अर्को भिडियो सार्वजनिक भयो। जसमा उनले गुल्मीमै मान्छेहरूसँग पैसा मागिरहेका छन्। उक्त भिडियो सार्वजनिक भएपछि सचिनलाई जहाँको त्यहीँ पुर्याएको भन्दै युट्युबरहरूमाथि प्रश्न उठेको छ। सक्ने जति गरेको हो, कहिलेसम्म गरिराख्न सकिन्छ? भन्ने उनीहरूको तर्क छ। धेरैले बुबा तेजेन्द्र परियारका कारण सचिनको यो अवस्था भएको तर्क पनि गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएर रातारात कल्पनाभन्दा बाहिरको जीवन बाँच्ने र फेरि पहिलेकै अवस्थामा फर्किने सचिन पहिलो होइनन्। न त अन्तिम हुन्। सचिनअघि आफूलाई अघोर बाबा बताउने विजय केसी, विजय साही, अलि पहिले एउटा फोटोबाट भाइरल बनेकी कुसुम श्रेष्ठ (तरकारीवाली) लगायतका धेरै जना छोटो समयको लागि चर्चामा आए। सोचेभन्दा फरक जीवनको अनुभव गरे अनि पहिलेकै सामान्य जीवनमा फर्किन बाध्य भएका थिए। समीक्षा अधिकारी, अशोक दर्जी, कमला घिमिरे लगायतका केही बालकलाकार भाइरल भएर पनि काम र पढाइ सँगै लैजान सकिरहेका छन्। यहाँ संरक्षकको रूपमा कस्ता मान्छे छन् भन्ने कुराले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

पछिल्लो समय ‘चोकतिर’ भनेर मानबहादुर, म्यादीको ड्रेस लगाएर ‘मिदी भाइ’ भनेर चिनिएका नवराज पनि भाइरल भए।  तर, यतिवेला युट्युबको ट्रेण्डिङ लिस्टमा भेलु बाजे र काले दाइ छन्। बोल्ने शैलीका कारण भइरल बनेका भेलु बाजे दाङबाट काठमाडौं आएर गीत गाउन र सिरियल खेल्न भ्याइसके। काले दाइलाई भर्खर भर्खर दाङबाट काठमाडौं ल्याइएको छ। दुई जनालाई सँगै राखेर अन्तरवार्ता लिइयो, दुई जनाको नाममा गीत पनि बनिसकेको छ।

को मान्छे भाइरल हुन्छ, को मान्छे हुँदैन भनेर निश्चित नभए पनि केही हदसम्म कसलाई, किन, कसरी भाइरल बनाउने भन्ने पहिलो भिडियो खिच्ने, सार्वजनिक गर्नेको हातमा हुन्छ। एकपटक भाइरल भएपछि उसलाई जति क्यामेरामा कैद गर्न सक्यो च्यानल उति फस्टाउँछ। धेरै मान्छेले चिन्ने भएकै कारण गीत, सिरियल, फिल्म जस्ता कलाका विधामा भाइरल व्यक्तिलाई जोड्नुले यी क्षेत्र दूषित बन्दै गएको र गलत प्रथाको अभ्यास भइरहेको विज्ञ बताउँछन्।

अहिले भाइरल भइरहेका भेलु बाजे र काले दाइ पनि पहिलेकै सामान्य जीवनमा फर्किने निश्चितप्राय छ। नयाँ कुरा केही नआएपछि लामो समय एउटै अनुहार हेर्दा, एउटै कुरा सुन्दा मान्छेहरू दिक्क हुन्छन्। युट्युबमा भ्युज कम हुन थालेपछि युट्युबरले पनि वास्ता गर्न छोड्छन्। उनीहरूको ठाउँ लिन अर्को कोही आउँछ। अलिकति नसोचेको जीवन बाँचेर भाइरल भएका मान्छे पहिलेकै जीवनमा फर्किनुर्छ। त्यसरी एउटा भाइरल व्यक्तिको भाइरल काल सकिन्छ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित