बुर्तिबाङ अस्पताल व्यवस्थापन समिति अध्यक्षमा कमल भुसाल ।

 बुर्तिबाङ मंसिर २३ गते

गतवर्ष पौष महिनामा बुर्तिबाङ स्वास्थ्य चौकीबाट स्तरोन्नति भइ ५० शैया क्षमता सहित गण्डकी प्रदेश सरकार मातहत रहने गरी स्तरोन्नति गरिएको बुर्तिबाङ अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बुर्तिबाङका कमल भुसाल चयन हुनुभएको छ ।

अस्पताल सञ्चालन भएको केही महिनापछि करिब ३ महिना सम्म ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत अध्यक्षमा चयन भएपनि प्रदेश मातहत रहेका सबै अस्पतालमा समिति गठन कार्यविधि नयाँ बनेसँगै करिब ४ महिना सम्म समिति बिहिन बनेको अस्पतालले अब भने समिति गठनको कार्यले पूर्णता पाउने भएको छ ।

पिएचडी सम्मको अध्ययन गरेर विभिन्न सामाजिक कार्यमा सक्रिय ढोरपाटन १ बुर्तिबाङका भुषाललाई अध्यक्षमा चयन गरिएसँगै अस्पतालका व्यवस्थापन पक्ष राम्रो बन्ने आम नागरिकले अपेक्षा लिएका छन । पछिल्लो समय विभिन्न सेवा सुविधा विस्तार भइरहेको अवस्थामा अस्पतालका समस्या चुनौती थप सम्बोधन हुने अपेक्षा गरिएको छ ।

आफूलाई सरकारले अध्यक्षमा नियुक्ति गरेसंगै स्वास्थ्य जस्तो सम्बेवदनशिल विषयमा गम्भिर भएर सबैको साथ र सहयोगबाट अगाडि बढिने अध्यक्ष कमल भुसालको भनाई छ । गण्डकी प्रदेश सरकारले आफु मातहतका ११ वटा अस्पतालहरूमा नयाँ व्यवस्थापन समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले समिति गठनको निर्णय गरेको हो । अस्पत्तालमा समिती गठन नहुँदा सेवा सुविधा बृद्र्धि व्यवस्थापनमा केही समस्या थियो अब समितिलाई पूर्णता दिएसँगै अस्पतालले थप गति लिने गण्डकी प्रदेश सांसद दोर्ण कुमार कुवँरले बताउनु भयो । समिति गठन प्रकृया केही महिना पहिले गर्नै भनिएपनि भाद्र २३ र २४ गते भएको आन्दोलनका कारण ढिलाई भएको गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी ले बताउनु भयो ।

यसअघि प्रदेश सरकारले भदौको पहिलो साता २०७७, २०८० र २०८२ गठन आदेश अनुसार गठन भएका सबै अस्पताल व्यवस्थापन समिति खारेज गरेको र नयाँ गठन आदेश ल्याएको थियो । गण्डकी सरकार मातहत २ आयुर्वेद र १४ अन्य गरी १६ अस्पताल रहेका छन् । तीमध्ये ११ विभिन्न अस्पतलामा नयाँ व्यवस्थापन समितिको अध्यक्ष नियुक्ति गरिएको मन्त्रिपरिषद् श्रोतले जनाएको छ ।

जसअनुसार बागलुङको बुर्तिबाङमा कमल भुसाल, धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा श्रीप्रसाद शर्मा ,नवलपुरको मध्यबिन्दु अस्पतालमा बालकृष्ण घिमिरे, मुस्ताङ अस्पतालमा तेन्जिङ थकाली, लमजुङ अस्पतालमा विजय गुरुङ र पर्वत अस्पतालमा यामबहादुर नेपालीलाई अध्यक्षमा नियुक्त गरिएको छ ।

यसैगरी दमौली अस्पतालमा कमला मोहन वाग्ले, जनरल तथा सरुवा रोग लेखनाथ पोखरामा ऋषिराज जमरकट्टेल, स्याङजा अस्पतलमा डिलकुमार भूजेल, वेनी अस्पतालमा डेकबहादुर बानियाँ, मनाङमा अर्विण गुरुङ र नयाँ व्यवस्थापन समितिका अध्यक्ष तोकिएको हो । प्रदेश सरकारले ल्याएको अस्पताल र आयुर्वेद अस्पताल व्यवस्थापन समिति गठन आदेश २०८२ अनुसार व्यवस्थापन समिति गठन गरिएको हो । २ आयुर्वेदसहित ५ अस्पतालको भने छिटै व्यवस्थापन समिति गठन हुने श्रोतले जनाएको छ ।

नयाँ गठन आदेश अनुसार एक सय शैंय्याका अस्पताल, ५० शैय्या र २५ शैय्याका अस्पतालको हकमा छुट्टाछुट्टै व्यवस्थापन समिति गठन हुनेछन् । यसअघि सबै अस्पतालमा व्यवस्थापन समिति गठन आदेशमा एकरुपता थिएन । नयाँ गठन आदेश अनुसार एक सय शैय्याको अस्पतालमा स्नातक तह उत्तीर्ण भई सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिमध्येबाट प्रदेश सरकारले मनोनित गरेको व्यक्ति अध्यक्ष हुने व्यवस्था छ ।

यसैगरी सदस्यहरुमा अस्पताल रहेको स्थानीय तहको प्रमुख वा निजले तोकेको कार्यपालिका सदस्य, कम्तिमा स्नातक तह उत्तीर्ण सम्बन्धित जिल्लाको व्यक्तिबाट मन्त्रालयले मनोनित गरेको एक महिलासहित दुई जना, जिल्ला प्रशासन, प्रदेश लेखा नियन्त्रक कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि, समितिले मनोनित गरेको अस्पतालमा कार्यरत स्थायी विशेषज्ञ चिकित्सकबाट एकजना, अस्पतालको नर्सिङ प्रमुख र सदस्य सचिवमा मेडिकल सुपरिन्टेन्डेन्ट रहने छन् । समिति ९ सदस्यीय रहनेछ । यसैगरी ५० शैय्याको स्वीकृत अस्पतालको हकमा समितिको अध्यक्षमा स्नातक तह उत्तीर्ण भई सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिमध्येबाट प्रदेश सरकारले मनोनित गर्ने छ ।

साथै प्रविणता प्रमाणपत्र तह उत्तीर्ण मन्त्रालयले मनोनित गरेको एक महिलासहित दुई जना सदस्य गरी ९ सदस्यीय समिति गठन हुनेछ । प्रदेश सरकारबाट २५ शैय्यासम्म स्वीकृत अस्पतालहरुको हकमा सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिबाट प्रदेश सरकारले मनोनित गरेको व्यक्ति अध्यक्ष र मन्त्रालयले तोकेको एक महिला गरी ७ सदस्यीय समिति गठनको व्यवस्था छ । मन्त्रालयले मनोनित गर्ने सदस्यको पदावधि ३ वर्ष र स्थायी विशेषज्ञ चिकित्सकको हकमा भने समितिले तोके बमोजिम पदावधि रहने उल्लेख छ ।

नयाँ गठन आदेशमा मनोनित सदस्य भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध विक्री वितरण तथा निकासी वा पैठारीमा सजाय नपाएको हुनुपर्ने थपिएको छ । साथै सम्पत्ति शुद्धिकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्ने एवं निजी अस्पतालको सञ्चालक वा आधारभूत शेयरधनी नरहेको हुनुपर्ने उल्लेख छ ।

यसअघिको अस्पताल व्यवस्थापन समिति गठन आदेश २०८० मा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जिल्ला समन्वय समितिको प्रमुख रहने व्यवस्था थियो । सदस्यहरुमा अस्पताल रहेको स्थानीय तहको प्रमुख वा अध्यक्ष, प्रजिअ वा निजले तोकेको अधिकृतस्तरको कर्मचारी, प्रदेश लेखा नियन्त्रक÷प्रमुख कोष तथा लेखा नियन्त्रक, अस्पताल रहेको क्षेत्रको उद्योग वाणिज्य संघको अध्यक्ष, सामाजिक क्षेत्रमा क्रियाशील स्नातक उत्तीर्ण महिला एकजना र मेडिकल सुपरिन्टेन्डेन्ट सदस्य सचिव गरी ७ सदस्यीय रहेको थियो । समितिको अवधि दुई वर्षको हुन्थ्यो ।

अस्पताल व्यवस्थापन समिति गठन आदेश २०८० लाई गत बैशाखमा पहिलो संसोधन गरी प्रदेश सरकारले सामाजिक क्षेत्रमा क्रियाशील महिलामध्ये मन्त्रालयले मनोनयन गरेको कम्तीमा प्रविणता प्रमाणपत्र तह उपाधि (यसअघि स्नात्तकोत्तर थियो) एक जना सदस्य रहने भन्ने व्यवस्था गरेको थियो ।

नयाँ गठन आदेश अनुसार अस्पताल व्यवस्थापन समिलिते अस्पतालमा कार्यरत कर्मचारीलाई कार्यस्थलमा सुरक्षाको प्रत्याभूति गर्न सरोकारवालासंग समन्वय गर्नुपर्ने भनिएको छ । साथै गरिब, विपन्न, जनआन्दोलनका घाइते, शहिद तथा वेपत्ताका परिवार, वेवारिशे, असहाय बिरामीको लागि निशुल्क उपचार सम्बन्धि मापदण्ड कार्यविधि बनाई मन्त्रालयबाट स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरिएको छ । २५ शैय्याका अस्पतालले स्थानीय आवस्यकता प्राथमिकीकरण गरी विशेषज्ञ सेवा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।

५० शैय्याका अस्पतालले स्वीकृत संगठन संरचना अनुसारको विशेषज्ञ सेवाका अलावा स्थानीय आवस्यकता प्राथमिकीकरण गरी प्रदेशकै नमूना सेवाको रुपमा न्यूनतम थप २ विशेषज्ञ सेवा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । एक सय शैय्याका अस्पतालले विशेषज्ञ सेवाका अलावा स्थानीय आवस्यकता प्राथमिकीकरण गरी थप दुई विशेषज्ञ सेवा सञ्चालनको जिम्मा र कम्तीमा एक विशिष्टिकृत विशेषज्ञ सेवा सञ्चालनको कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्ने र सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्ने भनिएको छ ।

गण्डकी प्रदेश अन्तर्गत सञ्चालित अस्पतालहरुबाट प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुनस्र्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन तथा अस्पतालहरुको कामकारवाही गुणस्तरीय, चुस्त दुरुस्त प्रभावकारी बनाउने कार्यमा सहयोग गर्ने उद्देश्यसले अस्पताल व्यवस्थापन समिति गठन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img