२०८२ मंसिर १२ बुर्तिबाङ
शिशिर विश्वोकर्मा, बागलुङको बुर्तिबाङमा नेपाल दलित मुक्ति मोर्चा ढोरपाटन नगर कमिटीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रम नगर कमिटीका अध्यक्ष प्रेम बहादुर विकको अध्यक्षतामा भएको हो । कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय फ्याक्स इन्चार्ज परसुराम रम्टेल विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।

विशेष अतिथि रम्टेलले दलित समुदायका अधिकारहरू संविधान र कानुनमार्फत पर्याप्त रुपमा सुरक्षित देखिए पनि व्यवहारमा लागू हुन नसकेको उल्लेख गर्दै राज्य संयन्त्रदेखि स्थानीय तहसम्म अधिकार कार्यान्वयनमा गम्भीरता आवश्यक रहेको धारणा राखेका थिए ।
त्यस्तै नेकपा केन्द्रीय सदस्य निल पुन, नेकपा प्रदेश सचिवालय सदस्य चन्द्र अर्याल, दलित मुक्ति मोर्चाका प्रदेश सचिवालय सदस्य दिलिप थापा, थमबहादुर नेपालीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा देश–विदेशमा दलित समुदायले भोगिरहेको वास्तविक अवस्था, राजनीतिक सहभागिता, अधिकार कार्यान्वयन र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले सामाजिक न्याय, समावेशीकरण, राजनीतिक पहुँच र दलित समुदायको सशक्तिकरणका लागि पार्टी संगठन तथा स्थानीय निकायको भूमिकाबारे आफ्ना विचार व्यक्त गरेका थिए ।
नेपालको राष्ट्रिय राजनीतिमा दलित समुदायको वास्तविक अवस्था, उनीहरूले सामना गरिरहेका चुनौती र सम्भावित समाधानका विषयमा गरिएको यस अन्तरक्रिया कार्यक्रम समयानुकूल, बहस–मुखी तथा प्रभावकारी रहेको आयोजकले जनाएको छ ।










