शिशिर विश्वकर्मा
तमानखोला असोज १८

बागलुङको तमानखोला गाउँपालिका–१ र २ मा पर्ने ओडानथान मन्दिरमा पूजा गर्ने क्रममा दलित समुदायमाथि जातीय विभेद गरिएका छ ।
स्थानीय स्रोतका अनुसार, वडा दशैँको नवमीका दिन ओडानथान मन्दिरमा सामूहिक पूजाका क्रममा दलित समुदायका व्यक्तिहरूले पकाएको मासु जनजाति (छन्त्याल) समुदायका केही व्यक्तिहरूले नखाने भन्दै बहिष्कार गरेको पाइएको छ । सो घटनापछि दलित समुदायका सदस्यहरूले आफूहरूलाई गरिएको विभेदप्रति आपत्ति जनाउँदै पकाएको मासु र प्रयोग भएका भाँडाकुँडा तमानखोला गाउँपालिकाको कार्यालयमै पु¥याएका छन् ।

घटनापछि स्थानीयस्तरमा तनाव सिर्जना भएको छ । गाउँपालिकाले घटनाको जानकारी लिएर छानबिन अघि बढाउने तयारी गरेको जनाएको छ । स्थानिय टोल विकास समितिका अध्यक्ष जाल बहादुर छन्त्यालका अनुसार, सो समुदायले विभिन्न सामूहिक भोज आयोजना गर्ने क्रममा मासु बहिष्कार गर्ने जस्ता परम्परागत अभ्यास देखिएको भए पनि अब त्यसलाई अन्त्य गर्नुपर्ने आवश्यकता महसुस गरिएको बताउनुभयो । अध्यक्ष छन्त्यालले आफ्नो समुदायले गरेको विभेदप्रति खेद र आत्मसमिक्षा व्यक्त गर्दै भविष्यमा समानता र सद्भाव कायम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“हामीले विगतमा यस्तो व्यवहार भएको स्वीकार गर्छौं । तर अहिलेको समयमा त्यस्ता विभेदकारी परम्परालाई हटाउनका लागि मैले आफ्नै समुदायलाई पनि सचेत गराएको छु,” उहाँले भन्नुभयो । यसैबीच, छन्त्याल समुदायका केही व्यक्तिहरूले आफूहरूले विभेद गरेको स्वीकार गरेका छन् । स्थानीय सामाजिक अगुवाहरूले जातीय विभेद जस्तो अमानवीय कार्यको अन्त्य गर्न सबै समुदायबीच आपसी समझदारी र सहअस्तित्व आवश्यक रहेको बताएका छन् । यस घटनाले गाउँमा पुनः जातीय विभेदका समस्या सतहमा आएको भन्दै सर्वसाधारणले दुख व्यक्त गरेका छन् ।
त्यस्तै, स्थानीय दलित समुदायका भुवन विश्वकर्माले परम्परागत चलनकै कारण आफूहरू विभेदको चपेटामा परेको गुनासो गर्नुभयो । “हामीले त वर्षौँदेखि मन्दिरमा पूजा गर्न पाइँदैन भन्ने सुन्दै आएको हो । यो परम्परा नै यस्तो बनाइयो कि हामी अलग्याइएका छौं,” उहाँले भन्नुभयो ।
उहाँले राज्यका कानुन र संविधानले सबै नागरिकलाई समान अधिकार दिएको स्मरण गराउँदै, व्यवहारमा पनि त्यसको कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो । दलित समुदायमाथि गरिएको जातीय विभेदका विषयमा स्थानीय दलित समुदायहरु ले खेद व्यक्त गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् । स्थानीय सरोकारवालाहरूले यस घटनाबाट समाजमा चेतना फैलिएको र आगामी दिनमा आपसी सद्भाव, सहिष्णुता र समतामूलक समाज निर्माणमा सबैले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
अहिले दशै पर्वका कारण गाउँपालिका कार्यालय बन्द भएका कारण घटना निष्कर्षमा पुग्न सकेको छैन । दशै पर्व सकिएका कारण आइतबार दुबै पक्षलाई राखेर घटनाको विषयमा थप अगाडी बढिने गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक हिराकुमारी छन्त्यालले बताउनु भयो ।
गाउँपालिकाले दुई बर्ष पहिलेनै जातीय विभेद झल्काउने गरी दुई स्थानमा फरक भोज भतेर गर्न नपाईने, सामुहहिक भोजको व्यवस्था लगाएत जातीय घटनालाई निर्मूल पार्न निती कानुन बनाएर अगाडी बढिसकेको छ । तर गाउँमा अझैपनी जातीय छुवाछुत जन्य घटना हुँदा दलीत समुदायले जातीय विभेद अझै पनी खेप्दै आउनु परिरहेको पाइएको छ ।