२०८२ भाद्र १६ , बुर्तिबाङ ,
पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ ।

लामो समयदेखि रकम अडकिएका बचतकर्तालाई राहत पुगोस् भन्ने उद्देश्यसहित इमेज सहकारी सङ्घर्ष समितिको पहलमा सोमबारदेखि एक लाख रुपैयाँसम्मको बचत गर्ने सदस्यलाई रकम फिर्ता गर्न थालिएको हो ।
सङ्घर्ष समितिका संयोजक दीलबहादुर कार्की र पोखरा संयोजक बेलबहादुर साहानीले सोमबार बचतकर्ता सुशीलाकुमारी शाहलाई ६६ हजार ६३० रुपैयाँको चेक हस्तान्तरण गर्दै फिर्ता प्रक्रिया औपचारिक रूपमा आरम्भ गर्नुभयो । समितिका अनुसार पोखरामा एक लाखसम्म बचत गर्ने बचतकर्ताको संख्या १५८ छ ।

संयोजक कार्कीले साना बचतकर्तालाई करिब एक करोड रुपैयाँ फिर्ता गर्ने तयारी भएको र ठूला बचतकर्ताको रकम सुरक्षित गर्न संस्थापक अध्यक्ष देवकुमार नेपालीको सम्पत्तिबाट व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले सोमबार ४० जनालाई रकम फिर्ता गरिएको र बाँकी बचतकर्तालाई मंगलबार भुक्तानी दिने तयारी भइरहेको बताउनुभयो ।
यसअघि, बागलुङमा दर्ता गरिएको इमेज सहकारीका तीन शाखामार्फत एक लाखभन्दा कम बचत गर्ने ६१३ जनालाई करिब पाँच करोड रुपैयाँ फिर्ता भइसकेको समितिले जनाएको छ । पोखरा र बागलुङ दुवैतिर मिलाएर सहकारीमार्फत करिब एक अर्ब ९५ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ ।
यस प्रकरणमा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित सञ्चालक चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगरलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । संस्थापक अध्यक्ष नेपालीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणसमेत कास्की जिल्ला अदालतमा विचाराधीन छ ।
२०७८ सालमा व्यापक हिनामिना आरोप लागेपछि फरार रहेका नेपालीलाई २०८० असोज १२ गते भारतको नयाँदिल्लीमा पक्राउ गरी नेपाल ल्याइएको थियो । जिल्ला अदालत बागलुङले उनलाई असोज १५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
सहकारीमा भएको ठगीले हजारौं बचतकर्ताको विश्वासमा ठेस पुगेको छ भने अहिले सुरु भएको फिर्ता प्रक्रिया पीडित सदस्यका लागि आंशिक राहत बनेको छ ।










