२०८२ भदौ १२ ,बुर्तिबाङ.
युरोप जाने सपना देखेर २६ वर्षका एक युवाले दलाललाई १५ लाख रुपैयाँ बुझाएको वर्ष दिन भन्दा बढी भयो । युरोप पुर्याइदिने त परको कुरा पैसा पाए लगत्तै के गर्न सक्छस् गर भनेर धम्काउँदै आएका म्याग्दीका दलाल एक सातादेखि प्रहरी नियन्त्रणमा छन् । युएईमा रहेका दलाल आप्रवासी स्रोत केन्द्र बागलुङको लामो समयको प्रयासपछि घर आएका बेला पक्राउ परेका हुन् ।

दलालबाट ठगिएको र विदेश जान ऋण लिएका साहुलाई पैसा फिर्ता नगरेसम्म घर फर्किने वातावरण नभएको भन्दै ५ महिना पहिले आप्रवासी स्रोत केन्द्र बागलुङमा आएका युवा आफ्नो पहिचान खुलाउन चाहान्न् । उनि विछिप्त छन् ।
आर्थिक वर्ष ०८१, ०८२ मा मात्र बागलुङका ७८ जना दलालबाट विभिन्न बाहनामा ठगिएका छन् । रोमनिया, क्रोएसिया, माल्टा जस्ता युरोपका देश पु¥याइ दिनेदेखि अमेरिका र खाडीका साउदी, दुबई, कतार जस्ता देशमा पुर्याइदिने बहानामा दलालबाट बागलुङका युवा युवती ठगिएका छन् ।

आप्रसावसी स्रोत केन्द्र बागलुङमा विदेश लैजाने भन्दै दलालबाट ठगिएको, विदेश पुगेपनि सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएको, स्वास्थ्यमा समस्या आएको, विदेशमै मृत्यु भएको, साहुले राहदानी जफत गरेर नेपाल फर्कन नपाएको जस्ता उजुरी पर्छन् ।
गत आर्थिक वर्षमा १ सय ३८ जनाले स्रोत केन्द्रमा उजुरी दिएका छन् । जसमध्ये सबैभन्दा धेरै उजुरी ठगीमा परेको छ । ७८ जनाले ठगिएको भन्दै उजुरी दिएका छन् ।
जिल्लाको सबैभन्दा धेरै बागलुङ नगरपालिकाका ३२ जना ठगिएका छन् । त्यसपछि धेरै ठगीनेमा जैमिनी नगरपालिकाका १३ जना छन् । गलकोट नगरपालिकाका ९, काठेखोला गाउँपालिकाका ७, ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिका ३/३ जना, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र बरेङ गाउँपालिकाका समान १/१ जना ठगिएका छन् । तमानखोला गाउँपालिकामा अहिलेसम्म ठगीमा परेको तथ्याङ्क छैन् ।
यसरी ठगीनेले दलाललाई २० हजारदेखि ५७ लाख रुपैयाँसम्म बुझाएको पाइएको आप्रवासी स्रोत केन्द्र बागलुङका प्रमुख मिन उपाध्यायले बताउनु भयो । स्रोत केन्द्रले ठगीमा परेकाको रकम फिर्ता ल्याउन समेत सहजिकरण गर्ने गरेको छ । गत आर्थिक वर्षमा ५८ लाख ८० हजार ५ सय रुपैयाँ फिर्ता गर्न सफल भएको उपाध्यायको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङ परिसरमै आप्रवासी स्रोत केन्द्र छ । राहदानी बनाउन आउने प्रत्येकलाई स्रोत केन्द्रले वैदेशिक रोजगारी सम्बन्धी परामर्श प्रदान गर्छ । गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय बागलुङ र इलाका प्रशासन कार्यालय बुर्तिवाङबाट गरि ११ हजार ७ सय ३८ थान राहदानी वितरण गरिएको छ ।
आप्रवासी स्रोत केन्द्र बागलुङ र बुर्तिवाङ सेवा केन्द्रबाट गत आर्थिक वर्षमा ११ हजार १ सय ५५ जनालाई परामर्श प्रदान गरिएको सेवा केन्द्रका सूचना परामर्श गंगा शर्मा रिजालले बताउनु हुन्छ । उहाँका अनुसार बागलुङ सेवा केन्द्रबाट ९ हजार १ सय ८१ जनालाई परामर्श दिएको छ । जसमा ५ हजार ५ सय ७८ पुरुष र ३ हजार ६ सय ३ महिला रहेका छन् । बुर्तिवाङ सेवा केन्द्रबाट १ हजार २ सय ७४ पुरुष र ७ सय १० महिला गरि १ हजार ९ सय ७४ जनालाई परामर्श प्रदान गरिएको छ ।
राहदानी लिएकै दिन वैदेशिक रोजगारी सम्बन्धी परामर्श प्रदान गर्दा त्यसपछि हुन सक्ने जोखिम र दुर्घटना कम गर्न सकिने उद्देश्य भएपनि ठगीनेको संख्या कम भएको छैन् । एकाध व्यक्तिहरु नजानेर, नबुझेर ठगिए पनि अधिकाशं शिक्षित र पैसावाला नै भएको शर्माले बताउनु भयो ।










